सर्लाही, चैत २७ । अभिभावकविहीन किशोरको उपचारका लागि सहयोग गरिदिन सर्लाहीको हरिवनमा रहेको द्वन्द्वपीडित बालगृहले याचना गरेको छ ।
हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको बालगृहमा आश्रय लिएर बसिरहेका १७ वर्षीय किशोर पासाङ जिम्बा लामाको उपचारका लागि सहयोग गरिदिन बालगृहले आग्रह गरेको हो । पासाङको फोक्सोलगायतका अङ्थमा गम्भीर समस्या देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । वीरअस्पताल काठमाडौँमा राखिएका किशोरको उपचारमा आर्थिक अभाव भएपछि आश्रम परिवारले निजको जीवन रक्षाको लागि सहयोगको याचना गरेको हो ।
पासाङलाई केही समय पहिला डेङ्गु सङ्क्रमण भएको थियो । स्थानीयस्तरमै उपचारपछि ठीक हुनुभएको उहाँको स्वास्थ्यमा पुनः समस्या देखिएपछि यही चैत १५ गते काठमाडौँ पु¥याइएको हो । सुरुमा टेकु अस्पताल भर्ना गरिएको उहाँको फोक्सोमा पिप जमेको र अवस्था जटिल बन्दै गएको भन्दै चिकित्सकले वीर अस्पताल रिफर गरिदिएका आश्रममा अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो । किशोरको फोक्सोमा पिप जमेर ‘इन्फेक्सन’ भइसकेकाले चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने भनेको उहाँको भनाइ छ ।
बालगृहले आश्रय दिएर राखेको अभिभावकविहीन पासाङको उपचारका लागि अहिलेसम्म रु दुई लाख बढी खर्च भइसकेको र थप शल्यक्रिया गर्न अस्पतालले सुरुमा रु डेढ लाख जम्मा गर्न भनेपछि आफूहरू समस्यामा परेको उहाँले बताउनुभयो । विभिन्न दाताको सहयोगमा सञ्चालन भइरहेको बालगृह आर्थिकरुपमा कमजोर रहेकाले समस्या भएको उहाँले सुनाउनुभयो ।
“अस्पतालले भनेको रु डेढ लाख रकम जम्मा गर्न नसक्दा अप्रेसन मिति पछाडि सार्नुपर्ने अवस्था आयो”, लामाले भन्नुभयो, “हामी अहिले तत्काल अस्पतालमा जम्मा गर्नुपर्ने रु डेढ लाख कसरी जुटाउने भन्ने तनावमा छौँ, हामीलाई निरन्तर सहयोग गरेर हौसला दिनुहुने सहयोगीदातालाई जीवन रक्षाका लागि एक पटक फेरि अनुरोध गर्दछु ।”






