काठमाडौं , वैशाख ११ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले मुलुकमा संघीयताको अम्भास भै रहेपनि शासक वर्गमा रहेको केन्द्रिकृत शासकीय मानसिकताले समस्या बल्झाउदै गएको बताएको छ ।
बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा कुराकानी गर्दै नेताहरु केन्द्रीकृत शासन व्यवस्थाबाट बाहिर निस्कन नसकेकै कारण मुलुकमा असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् ।
उनले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण केन्द्रकृत शासकीय मासिकताले समस्या बढेको बताए । उनले वडा–वडासम्म बजेट र अधिकार विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
उनले भने,‘ हामीले संविधान बनाएको दश वर्ष भइसक्यो यसलाई समिक्षा गरेर के के परिवर्तन गर्ने हो गर्नुपर्छ । वडासम्म अधिकार विकेन्द्रीकरण गर्नुपर्छ । सबै केन्द्रीकृत अधिकार भयो भने त केन्द्रको त राजा शासन भइहाल्यो नि । त्यसैले साच्चिकै जनताको अधिकार जनतामा दिने हो भने विकेन्द्रीकरण गरेर गाउँसम्म पुर्याउन जरुरी छ । नेताहरुको दिमाग अझैपनि केन्द्रकृत छन् । उनीहरु चाहदैनन् आफ्नो पावर दिनलाई । उनीहरु कुरा बुझ्दैनन् । बजेटले मध्यम वर्गलाई छुन पनि सकेको छैन । केन्द्रकृत शासनमा कसरी देश विकास हुन्छ ?’
त्यस्तै उनले संघ, प्रदेशमा केन्द्रले कुनैपनि किसिमको हस्पक्षेप गर्न नमिल्ने धारणा राखे । लोकतन्त्रको सफल कार्यान्वयनको ठूलो जिम्मेवारी थपिएको भन्दै दुईवटा ठूला दलले मिलेर नेतृत्व गरिरहँदा पनि कार्यान्वयन गरेन भने प्रश्न चिन्ह् खडा हुने उनको भनाइ छ ।
उनले भने,‘हामी विकेन्द्रीकरणमा गएका छौं । हाम्रो सातवटा प्रदेश छन् । सबैको आफ्नो आफ्नो अधिकार छ । उनीहरुको आफ्नै बजेट हुन्छ । उनीहरुको आफ्नै कार्यक्रम हुन्छ , आफ्नै संगठन हुन्छ तर हस्तक्षेप केन्द्रबाट गर्नुहुन्छ । अनि कसरी विकास हुन्छ । अर्को कुरा लोकतन्त्र त आयो यसको सफल कार्यान्वयनको पक्षमा काँधमा ठूलो जिम्मेवारी छ । दुईवटा ठूला दलले नेतृत्व गरिरहेका छन् । यसले पनि गरेन भने त प्रश्न चिन्ह आउँछ नि ।’
उनले आउने पुस्तालाई संघीय, लोकतन्त्र भनेको के भन्ने विषयमा प्रशिक्षण दिनुपर्ने बताउँदै उनीहरु प्रशिक्षित भए भने भविष्यमा यसले निरन्तरता पाउने धारणा राखे ।



