सिरहा, वैशाख १४ । जनता समाजवादी पार्टी नेपालले मधेश आन्दोलनको उद्गम भूमि लहान स्थित शहीद स्मारक हटाउने दुश्प्रयासमा नलाग्न चेतावनी दिएका छन ।
जनता समाजवादी पार्टी नेपाल लहान नगर कार्यसमितिले आज विज्ञप्ति जारी गर्दै गौरवपूर्ण मधेश जनविद्रोहका विर सहिदहरूको सम्मानमा लहानको गोलचोकस्थित स्मारकको व्यवस्थापनमा लापरवाही र षडयन्त्र भइरहेको भन्दै यस्तो चेतावनी दिएका हुन ।
रमेश महतो, बेचन यादव, मो. अनिस अंसारी, विजय साहनी र प्रमोद सदाय लगायतका पाँच वीर शहीदहरु स्मरणमा निर्माण गरिएको स्मारकलाई सडक निर्माणको नाममा हटाउने दुश्प्रयास भई रहेको भन्दै जसपा नेपाल लहानले आपत्ति जनाएको हो ।
स्मारक व्यवस्थापनका लागि विगत दुई वर्षदेखि सर्वपक्षीय संवाद र निर्णयहरू भए पनि हालसम्म कुनै ठोस कदम नचालिएको प्रति जसपा नेपालले गम्भीर असन्तोष व्यक्त गरेको छ।
सडक निर्माण कम्पनी, लहान नगरपालिका र केही राजनीतिक नेतृत्वहरुले स्मारक मेटाउन कपटपूर्ण षड्यन्त्र गरिरहेका भन्दै जसपा नेपालले वीर शहीदहरूको अपमान हुने कुनै पनि कार्य सह्य नहुने भन्दै यथा स्थानमै स्मारक यथावत् राखी सडक निर्माण गर्न मांग गरेको छ ।
नगर अध्यक्ष राम उदगार महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्मारक मेटाउने काम हाम्रो पार्टीले कदापि स्वीकार गर्ने छैन। यदि स्मारक हटाउने वा नोक्सानी पुर्याउने कुनै प्रयास गरिएमा हामी बाध्य भएर स्वाभिमान आन्दोलनमा उत्रिने छौं । त्यसबाट उत्पन्न हुने समस्त परिस्थितिको जिम्मेवारी निर्माण कम्पनी र नेपाल सरकारले लिनुपर्नेछ।”
साथै जसपाले लहानका सम्पूर्ण राजनीतिक दल, स्थानीय तह, विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजीवी, किसान, व्यवसायी, युवा तथा विद्यार्थी समुदायलाई एकजुट भई वीर शहीदहरूको सम्मान र स्मारक रक्षाको लागि साथ दिन आह्वान समेत गरेको छ ।



