रुपन्देही , वैशाख १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई कार्यकालपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानअन्तर्गत बर्दियाको राजापुरमा गरिएको सभामा उनले जनताका अधिकार स्थापित गर्न पनि आफू ५/७ वर्ष अर्थात दुई कार्यकाल पार्टी नेतृत्वमा बस्न जरुरी देखिएको बताए ।
‘अझै ५/७ वर्ष म मर्न हुन्न, त्यसपछि त जिम्मेवारीको नेतृत्व लिन मान्छे तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै, जनताको अधिकार स्थापित गर्न, हामीले थालेका केही अभियान टुंगाउन र छिन्नभिन्न माओवादी घटक जुटाउन मेरो काम बाँकी छ’,प्रचण्डले भने ।
पछिल्लो चरणमा पार्टीमा आएको सकारात्मक सन्देशले आफूलाई ऊर्जा आएको उनले सुनाए ।
‘दुई वर्ष मेहनत गरियो भने ०६४ भन्दा राम्रो नतिजा आउने सपना देखेको छु, त्यसैका आधारमा म मैदानमा आएको छ, तर अब सबै माओवादी मिल्न जरुरी छ । विगतमा भएका कमजोरी सबै छाडेर तपाईहरुसँग माफी माग्न आएका हौं’, दाहालले भने ।
जागरण अभियानमा आफूले यो बीचमा गरेका गल्ती स्वीकार गर्दै प्रचण्डले ती कमजोरीको उपचार गर्न जनतासमक्ष आएको उनले दोहोर्याए ।
‘हामीलाई अलिकति रोग लागेकै हो, हाम्रो उद्देश्यबाट विचलित भएकै हौं, उपचारका लागि जनतासँग आएका छौं, यसको उपचार अन्त गएर पाइदैन, झापाबाट बर्दिया आउँदासम्म धेरै रोग ठीक भइसकेको छ । अब कन्चरपुरसम्मको हुलाकी सडक र पहाडी बाटोबाट इलाम पुगेपछि सबै ठीक हुनेछ ’ उनले भने ।
प्रचण्डले आउने निर्वाचनमा कांग्रेस(एमालेको बैशाखी नटेक्ने तर माओवादी घटकहरूलाई मिलाएर अघि बढने बताए ।
‘अब कसैको बैशाखी टेकेर जाने होइन, देशभरमा माओवादीले जितेका पालिकाहरूको नतिजा राम्रो देखिएका उदाहरण प्रशस्त छन् । हामीले अलिकति मेहनत गरियो भने सबै नेतृत्व गरेका ठाउँलाई १ नम्बर बनाउन सकिन्छ भन्ने आधार देखिएका छन् । उपनिर्वाचनको नतिजाले एक्लै भिड्ने प्रष्ट संकेत आयो, लुम्बिनीमा कांग्रेस एमाले मिलेर लडेपनि हामीले जितेर देखायौं, स्ववियू निर्वाचनमा तरक्की नै भयो, विद्यार्थी तहमा आएको यो उत्साहले हामीलाई उत्साह थपेको छ, माओवादीविरुद्ध ठूला पार्टीको गठबन्धन हुँदा राम्रो नतिजा आयो ।’



