हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माँग



राजविराज, जेठ ८ । सप्तरीको चर्चित एवं ऐतिहासिक “हनुमाननगर जेल ब्रेक” घट्नाको ८२ वर्ष पछि एक कार्यक्रम गरी सम्झना र सम्मान ब्यक्त गर्नूका साथै सो स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्नू पर्नेमा जोड दिइएको छ ।

नेपाल–भारत जनमैत्री एकता मञ्च सप्तरीद्वारा विहीवार राजविराजमा आयोजित “हनुमाननगर जेल ब्रेक र नेपाल–भारत जनसम्बन्ध एकता” विषयक कार्यक्रमका सहभागी वक्ताहरुले ऐतिहासिक घट्नाको स्मरण र सम्मान सहित उक्त स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्नू पर्नेमा जोड दिएका हुन ।



हनुमाननगर जेल आक्रमण प्रकरणको छुट्टै विशेष एवं ऐतिहासिक महत्व रहेकाले सो घटनाको ऐतिहासिकताको स्मरण, सम्मान र चर्चा संगै उक्त स्थललाइ पर्यटकिय स्थलको रुपमा विकास गर्ने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको पुर्व सिंचाई मन्त्री समेत रहेका नेपाल–भारत जनमैत्री एकता मञ्च सप्तरीका संयोजक उमेश कुमार यादवले बताए ।

भारतका तत्कालिन अंग्रेज शाषकको अनुरोधमा राणा शासकहरुले भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा नेपालबाट पक्राउ परेका भारतीय समाजवादी नेता जय प्रकाश नारायण, राम मनोहर लोहिया, विजया पटबद्र्धन लगायत ७ जनालाई पक्राउ गरी सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर स्थित जेलमा कैद गरेका थिए ।

सन १९४३ मइ २२ ( वि.स.२००० जेठ ९ गते ) सप्तरीका रामेश्वर सिंह, जय मंगल सिंह, चतुरानन्द सिंह, कृण्णा कामी लगायतका नेताहरुले जेलमा आक्रमण गरी उनीहरुलाई कैद मुक्त गराई भारतमा सुरक्षित साथ पु¥याएका थिए । सोही ऐतिहासिक घट्नाको सम्झना र सम्मान तथा ऐतिहासिक स्थलको विकासका लागी गरिएको कार्यक्रमले सकारात्मक परिणााम ल्याउने इतिहास विज्ञ डा.पिताम्बर लाल यादवले बताए । झण्डै १ घण्टा लामो समय लिएर हनुमाननगर जेल ब्रेकको पुर्ण वृतान्त सुनाएका उनले भारतको स्वतन्त्रता संग्रामलाई थप उचाईमा पु¥याउन सप्तरीवासीले पनि ठूलो योगदान गरेको बताए ।

हनुमाननगर जेल ब्रेक पछी भारतमा अंग्रेज विरुद्ध थालिएको आन्दोलन थप चर्केको बताउँदै उनले दुबै देशका नागरिकले एक अर्कालाई सहयोग गर्न थालेपछि नेपालबाट तत्कालिन जहानिया राणा शाषणलाई समाप्त गर्न पनि ठु्लो बल मिलेको बताए । हनुमाननगर जेल ब्रेकका वृतान्त पस्की रहँदा पटक/पटक उनी भावुक बनेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी पूर्व निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादव, जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साह, क्याम्पस प्रमुख शुशिल कर्ण, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली, नेपाल–भारत मैत्री संघका अध्यक्ष मनोज मुन्धडा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका निर्वतमान अध्यक्ष श्यामसुन्दर यादव, सञ्चारकर्मी शिव नारायण साह, अवधेश झा, विष्णु मण्डल लगायतले पनि बोल्दै ऐतिहासिक महत्वको उक्त स्थलमा विभिन्न आकर्षक संरचना निर्मांण गरी पर्यटकिय स्थलको रुपमा विकास गर्न स्थानीय, प्रदेश र दुबै देशका सरकार मिलेर पहल गर्नू पर्नेमा जोड दिएका थिए । कार्यक्रम संचालन विनयलाल कर्णले गरेका थिए ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको