जीतेश कुमार यादव
सर्लाही, जेठ ३१ । सर्लाहीको बलरा नगरपालिकाले उच्च शिक्षा अध्ययनरत ५५ छात्रालाई साईकल उपलब्ध गराएको छ । बलरा–८ स्थित जनता नमुना माध्यमिक विद्यालयका ३७ छात्रा र बलरा–११ स्थित सुधा राजेश्वर माविमा अध्ययनरत १८ छात्रा गरि जम्मा ५५ जनालाई नगरपालिकाले साइकल प्रदान गरेको हो ।
संविधान सभा सदस्य शिवपुजन राय र बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले सो साईकल वितरण गरेका हुन ।
साईकल वितरण गर्दै नगर प्रमुख कुश्वाहाले विद्यालय जान सहज होस् भन्ने उद्देश्यले कक्षा ११ मा अध्ययनरत ५५ छात्रालाई साइकल वितरण गरिएको बताए । टाढा टाढाबाट छात्राहरु उच्च शिक्षा अध्ययन गर्न पैदल आइरहेको देखेपछि साइकल किनेर प्रदान गर्ने सोच बनेको प्रमुख कुश्वाहाको भनाइ छ ।
तराई मधेसको समाजमा छोरालाई जसरी छोरीलाई हेरिदैन, त्यसमाथि गरीबका छोराछोरीहरु नै ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘टाढाबाट आउन जान समय लाग्ने हुँदा पढाइमा नकारात्मक असर परिरहेको देखेपछि शिक्षामा सुधार ल्याउन साईकल दिने सोच बनाइएको हो। ’
साइकल भएपछि विद्यालय आउन जान सहज हुने र पढाइमा सुधार आउने विश्वास लिइएको उनले बताए ।






