खेलाडी र प्रशिक्षकलाई घोराहीमा सम्मान



दाङ, असार २६ । एसिसी पुरुष यु–१६ इस्टर्न जोन कप क्रिकेट प्रतियोगिता विजेता नेपाली टोलीका सदस्य शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई घोराहीमा भव्य रूपमा सम्मान गरिएको छ। जिल्ला क्रिकेट सङ्घ, दाङको आयोजनामा आज घोराहीमा आयोजित एक कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरिएको हो।

विजेता टोलीका महत्वपूर्ण सदस्य शुभम खनाल लमही नगरपालिका–५ का स्थायी बासिन्दा हुन् भने सहायक प्रशिक्षक सञ्जु क्षेत्री घोराही उपमहानगरपालिका–१३ का हुन्। सम्मान कार्यक्रममा सहभागी हुनु अघि उनीहरूलाई स्वागत गर्न घोराहीमा विजय र्याली निकालिएको थियो। स्थानिय खेलप्रेमी, संघ–संस्था प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको उक्त र्यालीले शहरलाई उत्सवमय बनाएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तिरनदाज गौतमले खेलकुद क्षेत्रमा गरेको योगदानको कदर स्वरूप खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्नु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले भने, ूयस्ता सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउनुका साथै अनुशासित खेल जीवनप्रति उनीहरूमा झन झुकाव बढ्छ।ू

जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले दाङ जिल्लामा खेलाडी उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले जिल्लाका विभिन्न स्थानमा रहेको खेल कौशललाई पहिचान गरी अझ संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार आगामी दिनमा क्रिकेट प्रशिक्षण केन्द्रको विस्तार, प्रतियोगिताहरूको आयोजना र युवा खेलाडीलाई आवश्यक स्रोत र पूर्वाधार उपलब्ध गराउने लक्ष्य रहेको छ।

सम्मान कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, अभिभावक, खेलप्रेमी तथा स्थानिय पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागीहरूद्वारा खेलाडी र प्रशिक्षकको सफलताप्रति बधाई तथा भविष्यका लागि शुभकामना व्यक्त गरिएको थियो।

यस किसिमका सम्मान कार्यक्रमले खेलकुद क्षेत्रलाई थप ऊर्जावान बनाउने र युवा पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार १८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको