वेस्ट इन्डिज, साउन २ । वेस्ट इन्डिज क्रिकेट टोलीको प्रदर्शन दिनप्रतिदिन कमजोर बन्दै गएपछि वेस्ट इन्डिज क्रिकेटको संकट बढ्दै गएको छ । पछिल्लो समयमा टोलीका थुप्रै महत्त्वपूर्ण खेलाडीहरूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिरहेका छन्। निकोलस पूरनपछि आन्द्रे रसेलले पनि सन्यास लिएको घोषणा गरेसँगै वेस्ट इन्डिज क्रिकेट गम्भीर संकटतर्फ उन्मुख भएको देखिन्छ।
यी खेलाडीहरूले सक्रिय अन्तर्राष्ट्रिय करियर त्याग्दै विभिन्न विश्वव्यापी टी–२० लिगहरूमा सहभागिता जनाइरहेका छन्। यस्तो प्रवृत्तिले पूर्व कप्तान तथा महान ब्याट्सम्यान ब्रायन लारालाई गम्भीर चिन्तित बनाएको छ। उनले खेलाडीको होइन, वेस्ट इन्डिज क्रिकेट बोर्डको व्यवस्थापन र नीतिलाई दोषी ठहर गरेका छन्।
ब्रायन लाराले हालैको ‘स्टिक टु क्रिकेट’ नामक पोडकास्टमा आफ्नो विचार राख्दै भने, ‘खेलाडीहरू केवल पैसा हेरेर खेल बदलिरहेका होइनन्, बोर्डले उनीहरूलाई राष्ट्रिय टोलीप्रति वफादार बनाउने कुनै नीति बनाएको छैन।’ उनले निकोलस पूरनको सन्यासलाई उदाहरण दिँदै भने, ‘२९ वर्षको उमेरमा त्यति क्षमतावान ब्याट्सम्यानले किन सन्यास लिन्छ ? कारण स्पष्ट छ—अर्थतन्त्र, अवसर र व्यवस्थाको कमी।’
हालै अष्ट्रेलिया विरुद्ध किंग्स्टन टेस्टमा वेस्ट इन्डिज केवल २७ रनमै अलआउट भएको थियो, जुन टेस्ट क्रिकेट इतिहासको दोस्रो सबैभन्दा कम स्कोर हो। यसले टोलीको तयारी, मनोबल र नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको छ।
लाराका अनुसार, इङ्गल्याण्ड, अष्ट्रेलिया र भारतजस्ता देशका क्रिकेट बोर्डहरूले आफ्ना खेलाडीहरूसँग व्यावसायिक सम्झौता गर्दै उनीहरूलाई लिगहरूतर्फ आकर्षित हुनबाट जोगाएका छन्। तर वेस्ट इन्डिज बोर्ड त्यसमा पूर्ण असफल भएको छ।
‘खेलाडीहरूलाई दोष दिन सकिन्न,’ लाराले भने, ‘जब केन विलियमसन, ट्रेन्ट बोल्ट, वा हेनरिक क्लासेनजस्ता खेलाडीहरूले पारिवारिक जिम्मेवारीलाई प्राथमिकता दिँदै केन्द्रीय सम्झौताबाट अलग हुने निर्णय लिन्छन्, त्यतिबेला हामी बुझ्नुपर्छ कि यो केवल पैसाको होइन, दीर्घकालीन सुरक्षाको प्रश्न हो।’
वर्तमान समयमा वेस्ट इन्डिजका धेरै खेलाडीहरू आईपीएलसहित अन्य फ्रेन्चाइज लिगहरूमा सक्रिय छन्। तीमध्ये केही अझै राष्ट्रिय टोलीका लागि उपलब्ध छन् भने केहीले पूरै फ्रेन्चाइज करियर रोजेका छन्।
वेस्ट इन्डिज क्रिकेटको संकट सन्दर्भमा वेस्ट इन्डिज क्रिकेटको भविष्यबारे गम्भीर बहस आवश्यक देखिन्छ। के यो बोर्डको नीति परिवर्तनले सम्भव छरु वा अब वेस्ट इन्डिज क्रिकेटले आफ्नो गौरव फर्काउने सपना केवल इतिहासमै सीमित रहनेछ ?




