मधेश आन्दोलनकारीलाई झुटा मुद्दामा फसाइयो : अध्यक्ष ठाकुर



महोत्तरी, साउन ९। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका अगुवाहरूलाई झुटा मुद्दामा फसाइएको आरोप लगाएका छन्। उनले आन्दोलनको उपलब्धिलाई सम्मान गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँकी मुद्दा फिर्ता लिन आग्रह गरे।

महोत्तरीको मटिहानीमा बिग्घी पुल र प्रसूति गृह उद्घाटन कार्यक्रमको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीकै उपस्थितिमा बोल्दै ठाकुरले भने, मधेश आन्दोलनका नेता–कार्यकर्तालाई झुटा मुद्दा लगाएर जन्मकैदको सजाय सुनाइएको छ भने कति अझै जेलमा छन्। यस्ता मुद्दाहरू तत्काल फिर्ता हुनुपर्छ।

अध्यक्ष ठाकुरले लोसपाका प्रदेश सांसद अभिराम शर्मा, जलेश्वरका पूर्वमेयर रामशंकर मिश्र, तथा लोसपाका नेताहरू सुरेश पाण्डे र धर्मेन्द्र राउतलाई षड्यन्त्रपूर्वक झुटा मुद्दामा फसाइएको दाबी गरे।

उनले भने, यी सबै नेता मधेश आन्दोलनमा अगाडि थिए। आन्दोलनमा सहभागी भएका कारण उनीहरूलाई राज्यले नक्कली मुद्दा लगाएर सताएको हो।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीको नेतृत्वमा ३ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सुनाइएका केही मुद्दा फिर्ता भएको उल्लेख गर्दै बाँकी मुद्दाहरू पनि यथाशीघ्र फिर्ता लिन अनुरोध गरे।
ूहामीले पहिले पनि प्रधानमन्त्री ओलीलाई आग्रह गर्‍यौं,ू ठाकुरले स्मरण गरे, ूअहिले पनि बाँकी मुद्दा तत्काल फिर्ता लिन आग्रह गर्छु।ू

ठाकुरले मधेश आन्दोलनका क्रममा केही घटनाहरू भीडबाट भए पनि राज्यले आन्दोलनकारीहरूलाई खोजीखोजी फसाएको आरोप लगाए।
ूराज्यको नजर आन्दोलन दमनमा लाग्यो, उनले भने, शान्तिपूर्ण आन्दोलन गर्नेहरूलाई पनि जबर्जस्ती मुद्दामा पारिएको छ।

ठाकुरले आन्दोलनका मुद्दा राजनीतिक विषय भएकाले यसको समाधान राजनीतिक संवादबाट खोजिनुपर्ने धारणा राखे। उनले आग्रह गरे कि आन्दोलनको मूल उद्देश्यलाई बुझेर राज्यले क्षमाशीलता देखाउनुपर्ने समय आएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार १८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको