एजेन्सी, कात्तिक २५ । भारतीय बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनको स्वास्थ्यमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका चिकित्सकले अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
भारतीय सञ्चार माध्यमका अनुसार भर्ना पछि ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो। देओल परिवारसँग नजिक स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई पहिले नै विदेशबाट मुम्बई ल्याइएको थियो।
उनका छोरा सनी देओल अस्पताल बाहिर अत्यन्तै भावुक देखिएका थिए भने बबी देओल पनि फिल्म छायांकन छोडेर मुम्बई फर्किएका थिए।
धर्मेन्द्रको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्न शाहरुख खान, सलमान खान लगायतका बलिउडका थुप्रै सेलिब्रिटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल पुगेका थिए।
धर्मेन्द्र बलिउडको एक महानायक थिए जसले ५० वर्षभन्दा बढी लामो करियरमा दर्जनौं हिट फिल्महरूमा अभिनय गरेका थिए। उनी आफ्नो साहसिक भूमिकाका लागि प्रसिद्ध थिए र भारतीय सिनेमामा आफ्नो छुट्टै स्थान बनाएका थिए।
उनको निधनले बलिउड र चलचित्र प्रेमीहरूमा गहिरो शोक उत्पन्न भएको छ। धर्मेन्द्रको योगदान र उनको अभिनयको स्मृति भारतीय फिल्म जगतमा सधैं जीवित रहने छ।






