काठमाडौं,मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। यस निर्णयअनुसार सुदूरपश्चिमले पहिलो ब्याटिङ गर्नेछ।
विराटनगरले अघिल्लो खेलको टिममा एक परिवर्तन गरेको छ — शंकर रानाको स्थानमा नारायण जोशी पहिलो रोजाइमा खेल्दै छन्।
सुदूरपश्चिमले पाँच परिवर्तन गरेको छ — पुनित मेहरा, ध्रुव पराशर, जोश ब्राउन, हिक्मत महरा र दीपक बोहरा बाहिरिएका छन् भने शेल्डन ज्याक्सन, मुख्तार अहमद, स्कट कुग्लेइन, हेमन्त धामी र मिलन बोहरा टिममा आएका छन्।
लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका थिए। आजको क्वालिफायरमा विजेता टोली प्रत्यक्ष फाइनल प्रवेश गर्नेछ।
गत शनिबार लिग चरणको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो। एनपीएलको पहिलो संस्करणमा भने सुदूरपश्चिमले विराटनगरमाथि ९० रनको शानदार जित पाएको थियो।






