फिदिम, पुस २४ । पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ आयोजना हुने भएको छ। नेपाल मगर संघ जिल्ला समिति पाँचथरले माघे संक्रान्तिको अवसर पारेर उक्त महोत्सव आयोजना गर्न लागेको हो।
आयोजक नेपाल मगर संघले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ। ‘रैथाने खानाको प्रवर्धन, आन्तरिक तथा बाह्य पर्यटनको संवर्धन’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको संघका जिल्ला अध्यक्ष यौवनकुमार थापा मगरले जानकारी दिनुभयो।
महोत्सवमा मगर, राई, लिम्बू, तामाङ, नेवारलगायत १२ भन्दा बढी आदिवासी जनजातिका मौलिक र परम्परागत परिकारका स्टलहरू रहनेछन्। स्थानीय पहिचान झल्काउने रैथाने खानासँगै सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
फिदिम नगरपालिकाको प्रवर्धनमा आयोजना हुने यस महोत्सवले जिल्लाको सांस्कृतिक विविधता उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको रहेको छ। साथै, स्थानीय उत्पादन, सीप र संस्कृतिलाई चिनाउने अवसरका रूपमा महोत्सवलाई विकास गर्ने लक्ष्य लिइएको छ।
आयोजकका अनुसार रैथाने खानाको संरक्षण र प्रवर्धनमार्फत नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।






