सर्लाही, माघ १२ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा आउँदै हुनुहुन्छ।
नेपाली कांग्रेस सर्लाहीका अनुसार, थापालाई पूर्व–पश्चिम राजमार्गस्थित बागमती–कर्मैयामा स्वागत गरी सर्लाही–४ मा लैजाने कार्यक्रम तय गरिएको छ। कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले सभापति थापाको स्वागतका लागि सर्लाही र रौतहटका कार्यकर्ताहरू बागमती–कर्मैयामा उपस्थित हुने जानकारी दिनुभयो।
थापा केही दिन आफ्नो निर्वाचन क्षेत्रमा रहेर पार्टीका नेता, कार्यकर्ता र मतदातासँग भेटघाटन गर्नुहुने कार्यक्रम रहेको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट कांग्रेस सभापति थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा। अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिसकुमार यादव, नेकपाका डा। रजनीश राय, जसपा नेपालका रामेश्वर राय यादव लगायत ३८ जना उम्मेदवार प्रतिस्पर्धा गर्नेछन्।
सर्लाही–४ मा सभापति थापाको आगमनले कांग्रेस कार्यकर्ता र समर्थकबीच उत्साह बढाएको छ र आगामी निर्वाचनको प्रचार–प्रसार थप सजीव हुने अपेक्षा गरिएको छ।






