इनरुवा, चैत २६ । सुनसरीको इनरुवामा बिहीबार बिहान विद्युतीय सुरक्षा दिवसको अवसरमा सचेतना र्याली आयोजित गरिएको छ।
नेपाल विद्युत प्राधिकरणको इनरुवा वितरण केन्द्र द्वारा आयोजित र्यालीमा विद्युत सम्बन्धी सुरक्षा सन्देशहरू समावेश गरिएको थियो। र्याली कार्यालयबाट सुरु भई इनरुवाको बसचौक, प्रहरी कार्यालय र गोलचोक हुँदै पुनः कार्यालयमै समाप्त भएको थियो।
“विद्युतीय खतराबाट बचौँ र बचाऔँ” भन्ने मूल नारासहित र्यालीमा सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए। प्लेकार्डमा विद्युतीय सुरक्षा आफ्नै हातमा, भिजेको हातले विद्युतीय उपकरण नचलाऔँ, दक्ष प्राविधिकबाट घरको वायरिङ गराऔँ, विद्युतीय दुर्घटना संयोग होइन, सुरक्षाप्रतिको बेवास्ता हो , अनधिकृत विद्युत प्रयोग गर्नु अपराध हो जस्ता नाराहरु लेखिएको थियो ।
साथै, र्यालीसँगै वितरण केन्द्रले कार्यालयमा आउने ग्राहकलाई सचेतना प्रदान गर्ने कार्यक्रम पनि सञ्चालन गरेको छ। यस किसिमका कार्यक्रमहरूले स्थानीयवासीलाई विद्युत सुरक्षा र सावधानीबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेलेको अधिकारीहरूले बताएका छन्।






