नेशनल लघुवित्तद्वारा हरिपूर्वामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



मलंगवा, जेठ ३०। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय हरिपूर्वा सर्लाहीको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

हरिपूर्वा नगरपालिका–५ स्थित नेपाली खाजा घरमा आयोजित कार्यक्रममा रेखा देवीको सभापतित्व रहेको थियो भने हरिपूर्वा नगरपालिकाका मेयरका प्रत्यासी जयप्रकाश यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी बलिष्टार यादव विशिष्ट अतिथि तथा शाखा प्रमुख राजेश कुमार सिंह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सदस्य तथा सेवाग्राहीहरूलाई वित्तीय साक्षरता सम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो। विशेषगरी बचतको महत्व, ऋणको सही सदुपयोग, उद्यमशीलता विकास, समूह सुदृढीकरण तथा आर्थिक आत्मनिर्भरताका विषयमा प्रशिक्षणात्मक जानकारी दिइएको आयोजकले जनाएको छ।

त्यसैगरी वित्तीय अनुशासन कायम राख्ने, नियमित बचत गर्ने तथा ऋणको किस्ता समयमै भुक्तानी गर्ने बानीले व्यक्तिगत तथा पारिवारिक आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो।

कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सदस्य तथा समूहहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित सदस्य तथा समूहहरूको योगदानले अन्य सदस्यहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस्ता कार्यक्रममार्फत समुदायस्तरमा वित्तीय पहुँच विस्तार, वित्तीय शिक्षा प्रवर्द्धन तथा उद्यमशीलता विकासमा टेवा पुर्‍याउँदै आएको जनाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, केन्द्र प्रमुख, समूह सदस्य तथा संस्थाका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार २०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको