हेटौंडा, भदौ ४ । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेताको समर्थनमा थापाले बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनले तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी गरेका थिए ।
प्रदेश प्रमुख देवकोटाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न बिहीबार अपराह्न ४ बजेसम्मको समय दिएका थिए । सोहीअनुसार थापालाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
तर, थापालाई मुख्यमन्त्री बनाउन राप्रपाले समर्थन गरेको विषयमा पार्टीभित्र विवाद देखिएको छ । राप्रपाले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ । पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट गरिएको समर्थन आधिकारिक नभएको भन्दै राप्रपा केन्द्रले असहमति जनाएको थियो ।
राप्रपा केन्द्रले प्रदेश सरकार गठनमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै बुधबार नै प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाएको थियो । यद्यपि, प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्ति र शपथ कार्यक्रम तय भएको जनाएको छ ।
किरण थापा बागमती प्रदेशका सातौं मुख्यमन्त्री बनेका छन् । प्रदेश स्थापना भएयता एमालेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे, माओवादी केन्द्रका शालिकराम जम्कट्टेल तथा नेपाली कांग्रेसका बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री भइसकेका छन् ।
यससँगै बागमती प्रदेशमा पुनः सत्ता समीकरण परिवर्तन भएको छ ।






