नेपालमा विद्युतीय सवारी नै उत्तम विकल्प : उपराष्ट्रपति यादव



काठमाडौँ, भदौ ९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा विद्युतीय सवारी नै उत्तम विकल्प रहेको बताएका छन । नेपालको अटोमोबाइल क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले जलविद्युत् उत्पादन बढिरहेको अवस्थामा पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

मंगलबार ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी रहेकाले स्वदेशमै उत्पादित विद्युत्को उपयोगमार्फत पेट्रोलियम पदार्थको आयातमा बाहिरिने ठूलो रकम रोक्न सकिने बताए।

उनका अनुसार नेपालमा जलविद्युत् उत्पादन निरन्तर बढिरहेको अवस्थामा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्नु उपयुक्त विकल्प हो। यसका लागि आवश्यक चार्जिङ स्टेसनलगायत पूर्वाधार विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।

उपराष्ट्रपति यादवले नाडा अटो शोले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले नेपालमै सवारीसाधन तथा अटोमोबाइलका सामग्री उत्पादन र एसेम्बलिङ उद्योगको विकास गर्नुपर्नेमा जोड दिए।

उनले नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्यसहित अघि बढ्न नाडालाई आग्रह गर्दै अटोमोबाइल व्यवसायलाई रोजगारी र उद्यमशीलता सिर्जनासँग जोड्नुपर्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने गरी सरकारी नीति तथा कार्यक्रम आउनुपर्ने बताए।

उनले गत वर्ष अटोमोबाइल क्षेत्रबाट राज्यलाई करिब ८१ अर्ब रुपैयाँ राजस्व योगदान भएको उल्लेख गर्दै कुल राजस्वको करिब ८ देखि ९ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने धारणा राखे।

श्रेष्ठले आयातमा मात्र निर्भर नभई नेपालमै सवारीसाधन तथा पार्टपुर्जाको एसेम्बलिङ र उत्पादन सुरु गर्नुपर्ने बताए। स्वदेशमा उत्पादनमूलक उद्योगको विस्तारमार्फत युवाका लागि रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ थियो।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनी आयोजना गर्न पर्याप्त पूर्वाधारको अभाव रहेको बताए। भृकुटीमण्डपमा ट्रक, बस तथा ठूला उपकरण प्रदर्शन गर्न पर्याप्त स्थान नभएको उल्लेख गर्दै उनले काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारसँग आग्रह गरे।

अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन बिक्रीको व्यवसायका रूपमा नहेरी यसको समग्र आर्थिक प्रभावलाई बुझ्नुपर्ने बताए। विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार तथा नेपालमै एसेम्बल उद्योग स्थापना गर्न स्पष्ट नीति र सहुलियत आवश्यक रहेको उनले बताए।

नाडा स्थापनाको ५०औँ वर्षका अवसरमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ सुरु भएको अटो शो भदौ २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको