बागलुङ, असोज ११ । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका–३ मा शुक्रबार बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३९ वर्षीया श्यामकुमारी विक तथा उनका छोराहरू १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार बिहान करिब ४ देखि ५ बजेको समयमा घरमाथिबाट अचानक पहिरो खसेर घर पुरिएको थियो । पहिरोमा पुरिएका चारै जनाको मृत्यु भएको हो ।
यसैगरी निसीखोला गाउँपालिका–३ कै एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ । खोरमा रहेका २५ वटा बाख्रामध्ये आठवटालाई पहिरोले बगाएको जनाइएको छ ।
लगातारको वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ । स्थानीय तह र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।



