सिरहा, कात्तिक ९ । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रमेशबहादुर पालले उनको पक्राउबारे जानकारी दिएका छन्।
गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’का केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घटना साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनासँग पनि जोडिएको छ। अनवर विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
अनवरमाथि लगाइएको आरोपबारे अन्तिम कानुनी निष्कर्ष भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट तय हुनेछ।




