मनोज माझी
राजविराज, फागुन २४ । सप्तरीको तीन पालिका अहिले महिलाले नै हाँक्दै आएकी छन् । जसमध्ये दुई महिलाले कार्यवाहकको जिम्मेवारी पाएकी छिन् भने एक पालिकामा पहिला देखि नै प्रमुख पदमा महिला नै छिन् । संयोगबस महिलाले हाँक्ने तीनवटै पालिका नगरपालिका हो ।
तीनवटा मध्ये राजविराज नगरपालिकामा इसरत परवीन र शम्भुनाथ नगरपालिकामा अनिता कुमारी चौधरी उप–प्रमुखमा निर्वाचित भएकी थिईन् । सुरुङ्गा नगरपालिकामा भने गीता चौधरी प्रमुख पदमै निर्वाचित भएकी थिईन् ।
इसरत परवीन जसपा नेपाल, अनिता चौधरी नेकपा एकिकृत समाजवादी र गीता चौधरी नेपाली काँग्रेसबाट उम्मेदवार भई चुनाव जितेकी हुन् ।
राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव तथा शम्भुनाथ नगरपालिकाका जितेन्द्र प्रसाद गुप्ता अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछि ती दुवै पालिकाका उप–प्रमुख अहिले कार्यवाहक प्रमुख भएर पालिकाको नेतृत्व गर्ने अवसर पाएकी हुन् ।
यसरी नगर हाँक्ने नेतृत्वको अवसर पाएकी तीनवटै नगरप्रमुखले घर व्यवहार संगै नगर विकास निर्माण कार्यमा खरो उत्रने गरि काम गरिरहेको बताएकी छिन् ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन भन्छिन,–नगरपालिकाको अवस्था दयनिय रहँदा र विकास निर्माणको कामले गति लिन नसकेका बेला आफूले कार्यभार सम्हालेको र विस्तारै विस्तारै अवस्थामा सुधार आउन थालेको छ ।
उनले कसैकसैबाट विभिन्न भ्रामक हल्ला फिजाएर आफ्नो मनोवल घटाउने प्रयास भएपनि सुशासन र पारदर्शिता वृद्धिका लागि थालेको प्रयासमा कुनै कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । बर्षौं देखि अतिक्रमणको चपेटामा रहको नगर क्षेत्रका अधिकांश अतिक्रमित जग्गा खाली गराउन सफल भएको भन्दै उनले यसले निकै आत्म संतुष्टि मिलेको समेत सुनाएकी छिन् ।
सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरीले यसपालिकाको विकासमा आफूलाई सबै जनप्रतिनिधिको साथ र सहयोग रहेकाले काम गर्न सहज भएको प्रतिक्रिया दिएकी छिन् ।
उनले विकास निर्माण संगै महिला सशक्तिकरणका लागि समेत आफूले विभिन्न योजना कार्यान्वयमा ल्याएको जानकारी दिईन् । मधेश प्रदेशमै सुरुङ्गा नगरपालिकालाई पहिलो बालविवाह मुक्त पालिका घोषणा गर्न सफल भएको भन्दै उनले यसले आफूलाई थप हौसला मिलेको बताईन् ।
शम्भुनाथ नगरपालिकाको कार्यवाहक नगरप्रमुख अनिता चौधरी जिम्मेवारीले दैनिकी बदलिएको भएपनि प्रमुखको भूमिका कुशलतापुर्वक निर्वाह गरिरहेको बताएकी छिन् ।
सप्तरीको १८ पालिका मध्ये गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले सर्वाधिक पाँच पालिकामा प्रमुख पदमा जित हासिल गरेको थियो । यस्तै जसपा, लोसपा र नेकपा एमालेले तीन–तीन, जनमतले दुई तथा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एक–एक प्रमुख पदमा जित निकालेको थियो ।






