मनोज माझी
राजविराज चैत ३ । मापदण्ड पुरा नगरेका तथा दर्ता विना नै सञ्चालनमा रहेका अस्पताल/स्वास्थ्य संस्थालाई नियमन गरि व्यवस्थि गर्ने उद्देश्यले अनुगमन अभियान नै चलाएका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आईतवार आफ्नो गृह जिल्ला सप्तरी सदरमुकाम राजविरजमा रहेका अस्पताल/स्वास्थ्य संस्थाहरुको छड्के अनुगमन गरेका छन् ।
मुख्यमन्त्रीको नेतृत्वमा अनुगमन टोली आएको खवर पाएसंगै राजविरजका केही निजी क्लिनिक तथा अलट्रासाउण्ड र एक्सरे सेन्टर बन्द गर्दै सञ्चालकहरु सम्पर्क विहीन भए ।
दर्ता विना संचालनमा रहेका, नविकरण नगरेका र मापदण्ड पुरा नगरी संचालन भईरहेका स्वास्थ्य संस्थाका सञ्चालकहरुको भागाभाग नै भयो ।
“अनुगमन टोली आउने वित्तिकै स्वास्थ्य परीक्षण केन्द्र बन्द गरेर भाग्नुको मतलव त्यस्ता स्वास्थ्य केन्द्रमा कमी कमजोरी छ, मुख्यमन्त्री सिंहले भने, त्यस्तोको नामावली तयार गरिएको छ, कुनैबेला पनि पुनः अनुगमन हुन्छ ।”
मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले संघीय सरकारको मातहतमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालका साथै निजी क्षेत्रद्वारा सञ्चालित छिन्नमस्ता अस्पताल, युनिक सिटि अस्पताल, सन्जनदीप हस्पीटल प्रालि, अनार भुवनेश्वर हस्पीटल प्रालि, भारती इमेजिङ्ग सेन्टर र गजेन्द्रनारायण सिंह अस्पतालका पुर्व मेडिकल सुपरीटेण्डेन्ट डा दिलिप साहद्वारा सञ्चालित निजी क्लिनिकको अनुगमन गरेको छ ।
सो क्रममा पुर्व मेसु डा साहले सञ्चालन गरेको क्लिनिक मापदण्ड विपरित भएकोले तत्कालै प्रक्रिया पुरा नभए सम्मका लागि उक्त क्लिनिक बन्द गर्ने आदेश सहितको पत्र थमाइएको अनुगमन टोलीमा सहभागी मधेश प्रदेश मुख्यमन्त्री कार्यालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरले जानकारी दिए ।
उक्त क्लिनिक बन्द भएसंगै त्यहाँ भर्ना रहेका दुई दर्जन विरामीलाई उपयुक्त अस्पतालमा स्थानान्तरण गरि उपचारको व्यवस्था मिलाउने र नयाँ विरामी भर्ना नगर्न समेत क्लिनिक सञ्चालकलाई निर्देशन दिएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।
यस्तै युनिक सिटि हस्पीटल र अनार भुवनेश्वर हस्पीटल प्रालिलाई दुई महिना भित्र नविकरण तथा विपन्न समुदायका विरमीलाई दिने दश प्रतिशत छुटको विवरण उपलब्ध गराउन तथा सन्जनदीप हस्पीटल प्रालिलाई दुई महिना भित्र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गर्न र शल्यक्रिया कक्षमा एनेशथेसिया चिकित्सकको व्यवस्था गर्न निर्देशन सहितको पत्र थमाईएको छ ।
भारती इमेजिङ्ग सेन्टर संग स्वास्थ्य मन्त्रालयको अनुमति नदेखिएकाले तत्काल सो प्रक्रियामा जान भन्दै टोलीद्वारा समय सिमा तोकेरै सञ्चालकलाई पत्र थमाइएको छ ।
प्रदेश भरिका अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको अनुगमन गर्ने अभियान चलिरहेका बखत आफ्नो गृह जिल्लाको समेत अनुगमन गरिदिन भएको आग्रहलाई मध्य नजर गर्दै यसरी अनुगमनमा आएको मुख्यमन्त्री सिंहको भनाई छ ।
मापदण्ड पुरा नगरेका तथा दर्ता विना नै संचालनमा रहेका स्वास्थ्य संस्थालाई नियमन गरि व्यवस्थित गर्ने उद्देश्यले यस्तो अभियान थालिएको र यो क्रम चलिरहने उनको भनाई छ ।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले स्वास्थ्यकर्मीहरुको परिचयपत्र, अस्पतालको सरसफाई तथा बेडबेडमा पुगि बिरामीहरुको अवस्था बारे जानकारी समेत लिएका थिए ।
मापदण्ड विपरित सञ्चालनमा रहेका अस्पताल र स्वास्थ्य संस्थालाई व्यवस्थित गर्न चलाईएको अभियानले यस क्षेत्रमा सुधार ल्याउनुका साथै विरामीले सहज र सुलभ ढंगबाट स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।






