वन व्यवस्थापनमा योगदान गरेका तीन जना सम्मानित



जनकपुरधाम, चैत ४ । वन व्यवस्थापनमा तथा हरियाली प्रवद्र्धनमा अतुलनीय योगदान  गरेका तीन जना वन कर्मचारीलाई सम्मान गरिएको छ । धनुषाका डिभिजन वन अधिकृत (डिएफओ) विनोद सिंह, वन निर्देशनालयका वन अधिकृत सुरेश शर्मा, र सव डिभिजन वन कार्यालय धनुषाधामका वन अधिकृत शङ्कर नारायण झालाई अभिनन्दन गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समूह केमलीपुरले धनुषाको ढल्केबरमा आयोजना गरेको वन नीति तथा उद्यम विकास सम्बन्धी कानुनी सचेतना तालिमका अवसरमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा लगायतका पदाधिकारीले अभिनन्दन गरेका थिए ।

डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई वन व्यवस्थापनमा देखाएको कुशल नेतृत्व, वन अतिक्रमण नियन्त्रण, वन व्यवस्थापन तथा सुशासन कायम गर्न पुर्याएको योगदानका लागि सम्मान गरिएको छ ।

वृक्षमानव तथा देववृक्ष रोपणका अभियानी सुरेश शर्मालाई नेपाल र भारतमा समेत देववृक्षण रोपण अभियान चलाएर हरियाली प्रवद्र्धनमा योगदानका लागि सम्मान गरिएको छ । यसैगरी, धनुषाधामका वन अधिकृत शङ्कर नारायण झालाई उजाड वन क्षेत्रलाई पुनः हराभरा बनाउन गरेको अतुलनीय योगदानका लागि अभिनन्दन गरिएको छ ।

कार्यक्रममा वन संरक्षण तथा व्यवस्थापनका विभिन्न पक्षहरूबारे छलफल भएको थियो । सहभागीहरूले वन संरक्षणमा स्थानीय समुदायको भूमिकालाई अझ प्रभावकारी बनाउन कानुनी सचेतना र उद्यम विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०८१ चैत्र ४, सोमबार १९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको