रौतहट, चैत १९ । रौतहटको गरुडा नगरपालिका– ८ जिंगडियामा करोडौंको लागतमा जामे मस्जिद भवनको शिलान्यास गरिएको छ । मंगलबार एक विशेष समारोहकाबीच गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले विधिवत रूपमा मुस्लिम समुदायहरूको मस्जिद भवनको शिलान्यास गरेका छन्।
एक करोड ३८ लाख रुपैयाँको लागतमा जिंगडियामा अत्याधुनिक एवं सुविधा सम्पन्न जामे मस्जिद भवनको शिलान्यास गरिएको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताएका छन्। मस्जिद भवनको निर्माण कार्य छिट्टै प्रारम्भ भई निर्धारित समयभित्रै सम्पन्न गरिने उनले बताए।
एक करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको यो मस्जिद भवन मुस्लिम धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई सहज बनाउन महत्वपूर्ण एवं उपयोगी हुने विश्वास लिइएको मेयर जयसवालले बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले गरुडा नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण जातजाति, धर्म, वर्ग, तथा समुदायको समान हक अधिकार सुनिश्चित गर्दै आम जनताको चाहना अनुसार काम गरी अघि बढिरहेको बताए ।
नगरपालिकाले सबै नागरिकको धार्मिक तथा सामाजिक आवश्यकतालाई ध्यानमा राखेर कार्य गरिरहेको स्पष्ट पार्दै उनले भने, ूनगरपालिकामा कसैलाई उपेक्षित हुन दिइने छैन। सबै समुदाय समान छन्, सबैको हक बराबर छ, र विकासको अधिकार सबैको हो।ू
नगरपालिकाको नेतृत्व सम्हालेपछि आफूले सबै ठाउँमा सम्मान रूपमा विकासलाई प्राथमिकता दिएको बताउँदै प्रमुख जयसवालले गरुडा नगरपालिकालाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र समृद्धिको उदाहरणीय मोडेलका रूपमा स्थापित गर्ने गरी काम गरिरहेको उनले बताए ।
गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको प्रमुख आतिथ्य तथा जामे मस्जिदका अध्यक्ष कौशर खान मिथिलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, मुस्लिम समुदायका अगुवा, सामाजिक अभियन्ता तथा नगरवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।






