जनकपुरधाम, जेठ २५ । युरोपियन यूनियनको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, वडा नं. ४ का क्याम्पस चौकदेखि मिट क्याम्पस हुँदै परिक्रमा सडक भित्रका टोललाई सफा नमुना टोल घोषणा गरिएको छ।
उक्त कार्यक्रम क्रिएशन, रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब को साझेदारीमा, तथा युवा पैरवी समूहको रूपमा आबद्ध कार्ड नेपालको अगुवाइमा सफलतापूर्वक सम्पन्न गरिएको हो। कार्यक्रममा सिंगल-यूज प्लास्टिक न्यूनीकरण र स्वच्छता प्रवर्द्धनलाई केन्द्रमा राखी टोल सरसफाई, जनचेतना अभिवृद्धि र स्थानीय संलग्नता बढाउने उद्देश्य राखिएको थियो ।
कार्यक्रमको मूल उद्देश्य सिंगल(यूज प्लास्टिक न्यूनीकरण, स्वच्छता प्रवर्द्धन, जनचेतना अभिवृद्धि, र स्थानीय संलग्नता वृद्धि रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष सुरेश झा, वडा सदस्य प्रसन्न झा, बन तथा वातावरण शाखाबाट शुभाष शर्मा, प्रशासन शाखाबाट श्रवण यादव, सरसफाइ शाखाका प्रमुख श्याम ठाकुर तथा उपप्रमुख बद्री नारायण यादव लगायत स्थानीय पत्रकार, युवा स्वयंसेवक र टोलवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडा अध्यक्ष सुरेश झाले टोल सरसफाइ अभियानलाई संस्थागत रूपमा निरन्तरता दिने वाचा गर्दै भने, ‘यदि प्रत्येक वडाले यस्तै पहल गरे, जनकपुरको रूप फेरिनेछ। यो हाम्रो जिम्मेवारी पनि हो र अवसर पनि।’
कार्यक्रममा कार्ड नेपालका तर्फबाट त्रिबेन्द्र कुमार यादवले ग्रीनसिफ्ट परियोजनाको उद्देश्य, गतिविधिहरू गरेका प्रयास र समुदायमा देखिएका परिवर्तनबारे दृश्य सामग्रीमार्फत प्रस्तुति दिएका थिए। उनले भने, “युवाको सामूहिक प्रयास, प्लास्टिक न्यूनीकरण र सरसफाइको नेतृत्वमा समुदायले जुन सक्रियता देखाएको छ, त्यो अनुकरणीय छ।”
टोलवासी शैलेन्द्र मल्लिकले खुशी व्यक्त गर्दै भने, “हामीलाई पहिले लाग्थ्यो यस्ता अभियान शहरका लागि मात्र हुन्छन्। तर आज हाम्रो टोल उदाहरण बनेको छ। यो गर्वको कुरा हो।”
रवि चंद्रलाल कर्णले आफ्नो मन्तव्यमा भने, “पहिले सडकभरि प्लास्टिक देखिन्थ्यो, अहिले बच्चाहरू पनि फोहोर नफालौँ भन्छन्। यति परिवर्तन हाम्रो सामूहिक चेतना र सक्रियताको नतिजा हो।”
महेन्द्र उप्रेतीले थपे, “यस्तो अभियानले हामी टोलवासीबीच एकता र जिम्मेवारीको भावना बलियो बनाएको छ। हामी अब यो अभ्यास निरन्तर जारी राख्नेछौँ।”
बन तथा वातावरण शाखाका शुभाष शर्माले भन्नुभयो, “टोल स्तरमै यस्तो सरसफाइ र वातावरणमैत्री सोच देख्दा अब हामीलाई वातावरणीय योजना बनाउँदा समुदायको भूमिका अझ महत्त्वपूर्ण देखिन्छ।”
सरसफाइ शाखाका उपप्रमुख बद्री नारायण यादवले भने, “हामीले धेरै योजना बनायौँ, तर यस्तो प्रभावकारी कार्यान्वयन समुदायको साथबिना सम्भव थिएन। अब हामी यस्ता नमुना टोलहरूको संख्या बढाउने योजनामा छौँ।”






