काठमाडौँ ,असोज ७ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी युनिटहरूबाट करिब ११ सय थान हतियार हराए ।
लुटिएका र आगजनी भएका हतियारको विवरण तयार गर्न प्रहरी प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा समिति गठन पनि गरिसकेको छ । हराएका हतियारको विवरण संकलन गर्ने समितिको प्रहरीको नेतृत्व अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीले गरेका छन् ।
प्रदर्शन नियन्त्रण बाहिर आएपछि उच्छृङ्खल समूहले भदौ २४ गते देशभरबाट हतियार लुटपाट गरेको थियो । प्रदर्शनमा एसएलआर, पेस्तोल, ग्यास गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नमलगायत हतियार लुटिएको प्रहरी अधिकृतहरू बताउँछन् । एआईजीले नेतृत्व गरेको उपत्यका प्रहरी कार्यालय र डीएसपी इन्चार्ज रहेका काठमाडौँका वृत्तहरूबाट उच्छृङ्खल समूहले सबैभन्दा धेरै हतियार लुटेका थिए ।
तर प्रदर्शनपछि नेपाली सेनाले २६८ नाल हतियार भने बरामद गरेको छ । ती हतियार प्रहरी र सशस्त्रबाट लुटिएको हुनसक्ने सैनिक अधिकृतहरू बताउँछन् । प्रहरीका युनिटहरू आगजनी हुँदा केही हतियार जलेको अवस्थामा पनि फेला परेका छन् । प्रहरीका एक उच्च अधिकृत भन्छन्, ‘६०–७० थान हतियार जलेको अवस्थामा भेटिएको छ, यकिन विवरण समितिले तयार गरिरहेको छ ।’
आफ्नो जिम्मेवारीमा रहेको हतियार लुटिनु वा हराउनुलाई प्र्रहरी ऐनले ‘कडा अपराध’ मानेको छ । प्रहरी ऐनको दफा ३३ ले आफ्नो जिम्माको हतियार आक्रमणकारीलाई सुम्पिएमा वा हराए ‘कडा अपराध’ हुने उल्लेख गरेको छ ।
प्रहरी ऐनको दफा ३६ ले प्रहरी विशेष अदालतको स्थापना र गठनबारे उल्लेख गरेको छ । सो दफाअनुसार गठन हुने प्रहरी विशेष अदालतबाट कसुर पुष्टि भएमा आजन्म कैद र १४ वर्षसम्म कैद वा तीन वर्षको तलब बराबरसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
प्रहरी ऐनको दफा ३३ मा लेखिएको छ, ‘थाना, चौकी, गारद र आफूसाथ वा आफ्नो जिम्मा रहेको हातहतियार, खरखजाना अन्य सरकारी धनमाल कागजातहरू आक्रमणकारीहरूलाई सुम्पी मद्दत गरेमा कडा अपराध गरेको मानिन्छ ।’
यसरी हतियार लुटिए विशेष अदालत ९प्रहरीभित्रको अदालत० गठन हुनसक्नेबारे प्रहरी अधिकृतहरूले चर्चा गर्न थालेका छन् । विशेष अदालत गठन भए कारबाहीमा परिने चिन्ता जिम्मेवार अधिकारीहरूलाई छ । द्वन्दकालमा पनि यस्तो अदालत गठन भएको ।
जानाजान हतियार सुम्पेको अवस्थामा विशेष अदालतले कैद र जरिवाना गर्ने व्यवस्था रहेको छ ।
तर, जेनजी प्रदर्शनमा परिस्थिति फरक रहेको सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापा बताउँछन् । ‘अवस्था हेरेर विशेष अदालत गठन हुन्छ, जेनजी प्रदर्शनमा प्रहरीहरूले जानाजान हतियार सुम्पेको अवस्था छैन ।’
प्रहरी कार्यालयमा आगजनी हुँदा कतिपय हतियार युनिटमै जलेका छन् । जेनजी पुस्ताले भदौ २३ मा गरेको प्रदर्शनमा भएको दमन र भोलिपल्टको आगजनी तथा तोडफोडको छानबिन गर्न मन्त्रिपरिषद्ले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका छन् । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी छन् ।
आफ्नो जिम्मामा रहेको हतियार चोरी हुँदा तत्कालीन प्रहरी हवल्दार खुल बहादुर कुँवर जेल परेका थिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत गोरखा घर भएका कुँवरको जिम्मामा रहेको दुईवटा पेस्तोल चोरी भएको प्रहरी अधिकारीहरू बताउँन् । सो घटना छानबिन गर्न विशेष अदालत गठन गरिएको थियो । प्रहरीको विशेष अदालतले उनलाई सात वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
तर, २० वर्षपछि सो पेस्तोल चोर्ने एक पूर्वप्रहरीले आत्मसमर्पण गरेर पेस्तोल बुझाए । आफूले गर्दा खुल बहादुरलाई अन्याय भएकाले आफूले समर्पण गरेको ती पूर्वप्रहरीले भनेका थापा सम्झन्छन् । अनि, २६ वर्षपछि सर्वोच्चबाट कुँवरले सफाइ पाएका थिए । कुँवरलाई तत्कालीन कमाण्डरले यातना दिएर साबिती बयान गराएको प्रहरी अधिकृतहरू बताउँछन् ।
जेनजी प्रदर्शनमा प्रदर्शनकारीले हतियार लुटेकाले विशेष अदालत गठन गर्दा प्रहरी कर्मचारीलाई अन्याय हुने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल बताउँछन् । ‘जेनजी प्रदर्शनमा जनसाधारणले प्रहरीको हतियार लुटेकाले लुट्नेहरूविरुद्ध डकैती मुद्दा आकर्षित हुन्छ,’ उनले भने । प्रदर्शन क्रममा करिब ११ सय थान हतियार लुटिएकाले विभागीय कारबाहीको विषय भने हुनसक्ने खरेल बताउँछन् ।
पूर्वएआईजी थापा पनि जेनजी प्रशर्दनमा भएको हतियार लुटपाटको विषय ‘फरक घटना’ भएको बताउँछन् । ‘जाँचबुझ आयोगको सिफारिसमा यो विषय निर्भर हुन्छ,’ उनको भनाइ छ । प्रहरी ऐनको दफा ३६ ९क० अनुसार हतियार लुटिँदा जुनियरदेखि उच्च अधिकृतहरू जिम्मेवार देखिए एउटै विशेष अदालत गठन हुने व्यवस्था छ । अन्य अवस्थामा दर्जाअनुसार अदालत गठन हुन्छ । न्याय सेवा अधिकृतको अध्यक्षतामा गृह मन्त्रालयले त्यस्तो अदालत गठन गर्ने व्यवस्था कानुनमा छ ।
नेपाली सेना र सशस्त्र प्रहरीमा पनि अदालत गठनको व्यवस्था छ । २०७५ पुसमा सेनाको कालिबहादुर गणबाट एसएमजी चोरी भएको थियो । हतियार चोरेको आरोपमा कोर्टमार्सल हुँदा चितवनस्थित कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ थुनामा परे ।
तीन वर्षपछि सैनिक जवान गंगाधर ढकालले त्यही हतियार प्रयोग गरेर २०७८ साउनमा हुद्दा भरत गुरुङको हत्या गरे । हतियार बरामद भयो, ढकालले आफैंले एसएमजी चोरेको स्विकारे । त्यसपछि गठन गरिएको कोर्टमार्सलले गुरुङ र तामाङलाई सफाइ दिएर ढकाललाई दोषी ठहर गरेको थियो ।
सशस्त्र प्रहरीमा पनि लपरवाहीपूर्वक हतियार चोरी हुँदा र लुटिँदा विशेष अदालत गठन हुने गरेको अधिकृतहरू बताउँछन् ।






