श्याम कुमार ठाकुर
सिरहा, मंसिर ७ । सिरहा जिल्लाको कल्याणपुर कालाबजार स्थित २०१८ सालमा स्थापना भएको एक सामुदायिक विद्यालय अहिले चरम शैक्षिक पतनको अवस्थामा पुगेको छ। कागजमा १०० भन्दा बढी विद्यार्थी दर्ता देखिए पनि वास्तविकतामा पठन–पाठन प्रक्रिया लगभग शून्य अवस्थामा पुगेको स्थानीयबासीले बताएका छन्।
विद्यालयमा ६ जना शिक्षक दरबन्दी भए पनि कक्षाकोठामा नियमित पठन–पाठन नहुँदा विद्यार्थीहरू अनुशासनविहीन बनेका छन्। स्थानीयहरूको भनाइमा “विद्यालय त छ, तर शिक्षा छैन।”
आइतवार अधिकांश कक्षा खाली देखिएका थिए। केही विद्यार्थी कक्षाकोठाभित्र खेलिरहेका, केही बाहिर अनियन्त्रित रुपमा घुमिरहेका थिए भने कतिपय उद्देश्यविहीन अवस्थामा विद्यालय परिसरमै बसेका थिए।
स्थानीय बासिन्दा किसुन महतो भन्छन्, “गाउँको शिक्षा व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त भएको छ। शिक्षकहरू मन लागे जस्तै आउने–नआउने गर्छन्। यस्तो लापरबाहीले बालबालिकाको भविष्यसँग खेलबाड भइरहेको छ।”

उनका अनुसार पहिले २००–३०० विद्यार्थी पढ्ने विद्यालयमा अहिले १०० जना पनि नियमित उपस्थित हुँदैनन्। “शिक्षकले जिम्मेवारी लिन छाडेपछि विद्यार्थी नआउनु स्वाभाविक हो,” उनले थपे।
विद्यालयको अवस्था झन् दर्दनाक तब देखियो, जब कक्षा ८ मा ९ विद्यार्थी दर्ता रहेको भए पनि कक्षामा केवल ४ जना मात्र उपस्थित थिए। सामान्य शैक्षिक प्रश्न सोध्दा पनि धेरैले उत्तर दिन नसक्नुले विद्यालयमा पाठ्यक्रम नै राम्ररी लागू नभएको स्पष्ट हुन्छ।
यति गम्भीर समस्याका बाबजुद विद्यालय व्यवस्थापन समिति र स्थानीय तह भने पूर्ण रूपमा निष्क्रिय देखिन्छन्। अभिभावकहरूले पटक–पटक गुनासो राख्दा पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको उनीहरूको आरोप छ।
स्थानीय बिसुन मण्डल भन्छन्, “विद्यालय भगवान भरोसामा चलिरहेको छ। यो विद्यार्थीको भविष्य होइन, शिक्षकहरूको तलब र स्वार्थ पूरा गर्ने थलो मात्र बनेको छ।”
‘यो एउटै विद्यालयको होइन, सम्पूर्ण शिक्षा प्रणालीको रोग हो’ कल्याणपुरको यो अवस्था सिरहासहित देशका धेरै सामुदायिक विद्यालयको यथार्थ झल्काउने उदाहरण बनेको स्थानीयको भनाइ छ। शिक्षकको गैरजिम्मेवारी, कमजोर अनुगमन, राजनीतिक पहुँच र उत्तरदायित्वको अभावले सामुदायिक शिक्षा प्रणाली दिनानुदिन कमजोर बन्दै गएको उनीहरूको गुनासो छ।







