जयकुमार यादवलाई डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कार



जनकपुरधाम, मंसिर २२ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष तथा सामाजिक अगुवा जयकुमार यादव प्रतिष्ठित ‘डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कार–२०२५’ बाट सम्मानित हुने भएका छन्। भारतीय दलित साहित्य एकेडमी नया दिल्लीले सामाजिक सेवा तथा दलित, विपन्न र पिछडिएका समुदायको उत्थानका क्षेत्रमा गरेको योगदानका आधारमा उनलाई यो पुरस्कारका लागि चयन गरेको हो।

एकेडमीका राष्ट्रिय अध्यक्ष प्रो. डा. एस. पी. सुमनाक्षरले डिसेम्बर ६ मा जारी गरेको आधिकारिक पत्रमार्फत यादवलाई अन्तर्राष्ट्रिय स्तरको यो प्रतिष्ठित पुरस्कारका लागि चयन गरिएको जानकारी गराएका छन्।

एकेडमीको ४१औँ राष्ट्रिय सम्मेलनअन्तर्गत यस पुरस्कारको वितरण १२ डिसेम्बर २०२५, बिहान ११ बजे भारतको दिल्लीस्थित पञ्चशील आश्रम, झरोदा गाउँमा हुनेछ। सो समारोहका प्रमुख अतिथिद्वारा यादवलाई सम्मान प्रदान गरिने कार्यक्रम तय भएको छ।

अकादमीले यादवले नेपालको आफनो पालिकाको दलित तथा पिछडिएको समुदायको हितमा निरन्तर गरेको सामाजिक सेवा, नेतृत्व र जनकल्याणका गतिविधिले विशेष प्रभाव पारेको उल्लेख गरेको छ। भारत तथा विदेशमा रहेका दलित समुदायको उत्थानमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गरिने यस पुरस्कारलाई दक्षिण एशियाली परिवेशमा निकै महत्वपूर्ण मानिन्छ।

पुरस्कारको सूचना सार्वजनिक भएपछि धनुषासहित मधेशभरि यादवप्रति बधाई तथा शुभकामनाको क्रम चलिरहेको छ। स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सामाजिक संस्था प्रतिनिधिहरूले यसलाई मधेशको सामाजिक क्षेत्रको उपलब्धिका रूपमा लिएका छन्।

प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार ०७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको