जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान



काठमाडौं ,मंसिर २३ । जेनजी आन्दोलनका क्रममा भएका दमन र त्यसपछिका तोडफोड घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजदेखि उच्च प्रहरी नेतृत्वसँग औपचारिक बयान लिन सुरु गरेको छ। आयोगसम्बद्ध स्रोतका अनुसार मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक(आईजी) राजु अर्यालसँग बयान प्रक्रिया थालिएको छ।

अर्याल जेनजी आन्दोलनको समयमै सशस्त्र प्रहरी बलको नेतृत्वमा रहेकाले आयोगले घटनासँग सम्बन्धित विस्तृत जानकारी लिन खोजेको हो।



अर्यालपछि आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने तयारी गरेको छ। कार्की आन्दोलनको अघिल्लो दिन प्रत्यक्ष कमाण्डमा नरहे पनि २३ गते राति मन्त्रिपरिषद्ले गरेको निर्णयपछि भोलिपल्ट बिहानबाट उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मा सम्हालेका थिए। त्यसैले आयोगले कार्कीबाट तत्कालीन एआईजीको भूमिकामा आधारित बयान लिनेछ।

आयोगले बहालवाला सुरक्षा अधिकारीहरूसँग बयान लिन ढिलो भएको स्वीकार गर्दै अबदेखि तीव्र गतिमा प्रक्रिया अघि बढाउने बताएको स्रोतले जानकारी दियो। अर्याल र कार्कीपछि तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको बयान क्रमशः हुनेछ।

यसअघि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले बयान सकेका छन् भने त्यसबेलाका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि आयोगमा बयान दिएका छन्।

आयोगको कार्यकाल सकिन एक सातामात्र बाँकी छ। तर अझै धेरै विवरण संकलन, कागजात अध्ययन र प्रतिवेदन लेखनका काम बाँकी रहेकाले समयावधि थप अपरिहार्य हुँदै गएको आयोगसम्बद्ध स्रोतको भनाइ छ।

प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको