मधेस प्रदेशको सभामुख जसपाको पोल्टामा , राम अशिष यादवले गराए उम्मेदवारी दर्ता



जनकपुरधाम, पुस ५ । मधेस प्रदेशको सभामुख जनता समाजवादी पार्टी (जसपा)नेपालले पाउने भएको छ । आज बसेको सातको गठबन्धनले सभामुख जसपालाई दिने निर्णय गरेको हो । उक्त निर्णय बमोजिम सभामुख पदका लागि जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश सभा कार्यसूचीअनुसार शनिबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा जसपा नेपालको तर्फबाट यादवले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी प्रदेश सभा सचिवालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्।



यादवको प्रस्तावकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र सिंह रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित यादव सात दलको साझा समर्थनमा सभामुख पदका लागि अघि बढेका हुन्।

प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाका अनुसार हालसम्म सभामुख पदका लागि एउटा मात्र उम्मेदवारी दर्ता भएको छ। सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय आज दिउँसो ३ बजेसम्म तोकिएको छ।

यसअघि सभामुख रहेका रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएपछि सभामुख पद रिक्त रहेको थियो। सोही रिक्त पद पूर्तिका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित मिति: २०८२ पुष ५, शनिबार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको