परिवर्तनका लागि शासकीय स्वरुप फेरिनु आवश्यक : उपेन्द्र यादव



विराटनगर, पुस १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई परिवर्तनको आभाष गराउन शासकीय स्वरुप फेरिनु आवश्यक रहेको बताएका छन ।

वर्तमान संसदीय व्यवस्थाले मुलुकलाई राजनीतिक स्थिरता दिन नसकेको दाबी गर्दै अध्यक्ष यादवले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने आवश्यकता औँल्याए।

शनिबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विद्यमान शासकीय संरचना र निर्वाचन प्रणाली नै मुलुकको विकासमा प्रमुख बाधक बनेको बताए। पछिल्लो १० वर्षमा १४ पटक सरकार परिवर्तन भएको उल्लेख गर्दै उनले संसदीय प्रणालीकै कारण देशले अपेक्षित विकासको गति लिन नसकेको धारणा राखे।

“यो संसदीय प्रणाली नेपालका लागि उपयुक्त छैन, यसले स्थिरता होइन, अस्थिरता मात्र निम्त्याएको छ,” यादवले भने, “बारम्बार सरकार फेरिने प्रक्रियाले मुलुकको समृद्धि अवरुद्ध भयो। अब जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले शासन चलाउने व्यवस्था आवश्यक छ।”

अध्यक्ष यादवले राष्ट्रपतिले विज्ञहरूको टोली गठन गरी सरकार सञ्चालन गर्नुपर्ने र संसदलाई कानुन निर्माण तथा बजेट तर्जुमा गर्ने भूमिकामा सीमित राख्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मात्रै सरकारलाई जनताप्रति उत्तरदायी र प्रभावकारी बनाउने उनको भनाइ थियो।

उनले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन नगरेसम्म केवल आवधिक निर्वाचनबाट मात्र जनताका समस्या समाधान हुन नसक्ने स्पष्ट पारे।
“शासकीय स्वरूप नबदलिएसम्म केबल संसदीय निर्वाचनले सबै समस्याको समाधान हुन्छ भन्न सकिँदैन,” उनले भने, “संसारकै गरिब मुलुकमा संसारकै महँगो निर्वाचन प्रणाली हुनु विडम्बनापूर्ण छ। अहिलेको खर्चिलो प्रणालीले इमानदार र साधारण नागरिकलाई राजनीतिबाट बाहिर धकेलेको छ।”

वर्तमान निर्वाचन प्रणाली अत्यन्त महँगो र खर्चिलो रहेको उल्लेख गर्दै यादवले यसलाई भ्रष्टाचारको मुख्य जडका रूपमा व्याख्या गरे। उनले पार्टी र उम्मेदवारले अनावश्यक खर्च गर्न नपर्ने, पारदर्शी र किफायती निर्वाचन प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०८२ पुष १२, शनिबार १८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको