सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु, स्थानीयको विरोध



विराटनगर, पुस १७ । सुनसरी जिल्लामा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक सिटी सफारी चालकको मृत्यु भएको छ। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको गोली लाग्दा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।

घटना बुधबार राति करिब १स्१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार साह आफ्नै सिटी सफारीमा भारतबाट नेपालतर्फ चिनी बोकेर ल्याउँदै थिए। सवारी साधन रोक्ने क्रममा प्रहरी र साहबीच विवाद भएको र त्यसपछि गोली प्रहार भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार साह गोली लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै अवस्थामा मृत्यु भएको हो। मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ।

घटनापछि आक्रोशित स्थानीयवासीले शव उठाउन नदिँदै घटनास्थलमै प्रदर्शन गरेका छन्। स्थानीयले प्रहरीको गोली प्रहारको विरोध गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले लेनदेनको विवादका कारण साहमाथि गोली हानिएको दाबी गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्कर समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन्। उनका अनुसार चोरीको सामान बोकेको सवारी रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि एपीएफले आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको हो।

हाल घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै मुचुल्का उठाउने काम गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र सत्यतथ्य बाहिर ल्याइने प्रहरीले जनाएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा सुरक्षाकर्मीको भूमिका र नागरिक सुरक्षाबारे गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ।

प्रकाशित मिति: २०८२ पुष १७, बिहीबार ०९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको