धार्मिक सद्भाव बिगार्ने प्रयास गरेको आरोपमा तीन जना पक्राउ



जनकपुरधाम, पुस २१ । सामाजिक सञ्जालमार्फत धार्मिक धार्मिक सद्भाव बिगार्ने प्रयास गरेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार टिकटकमार्फत धार्मिक भावना भड्काउने खालका भिडियो पोस्ट गरी समुदाय लक्षित गालीगलौज गरिएको पाइएपछि संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–६ का १९ वर्षीय आशिफ अन्सारी, २२ वर्षीय अमत अन्सारी र २५ वर्षीय रामप्रताप साह रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार टिकटकमा विभिन्न किसिमका आपत्तिजनक शब्द प्रयोग गरी समुदाय विशेषलाई लक्षित गर्दै भिडियो पोस्ट गरिएको थियो। उक्त गतिविधि सामाजिक सद्भावमा असर पार्ने देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बस्नेतले जानकारी दिए।

यसैबीच, टिकटकमा भिडियो बनाएर पोस्ट गरिएको विषयलाई लिएर गत पुस १९ गते कमला नगरपालिका–६ स्थित सिँग्याही मदानमा रहेको मुस्लिम टोलको मस्जिदमा तोडफोड भएको घटनाबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा स्थानीय २५ वर्षीय कपिल भनिने रामप्रताप साहलाई समेत पक्राउ गरिएको डीएसपी बस्नेतले बताए। तोडफोडका क्रममा मस्जिदमा रहेका कागजात निकालेर धार्मिक ग्रन्थसहित जलाएको आरोप उनीमाथि लागेको छ।

उनीमाथि पनि धर्मसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले टिकटक, फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि ठेस पुग्ने खालका स्टाटस, अडियो वा भिडियो पोस्ट गर्ने, लाइक, सेयर तथा कमेन्ट गर्ने कार्य कानुनविपरीत रहेको स्पष्ट पारेको छ। यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।

सामाजिक सद्भाव र शान्ति कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, धार्मिक अगुवा, अधिकारकर्मी, नागरिक समाज तथा सर्वसाधारण सबैले जिम्मेवार भूमिका निर्वाह गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले अपिल गरेको छ।

प्रकाशित मिति: २०८२ पुष २१, सोमबार ०८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको