सिरहामा १३९ जनाको उम्मेदवारी दर्ता



लहान , माद्य  ७ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिरहाका चारवटै निर्वाचन क्षेत्रमा गरी १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

जिल्ला मुख्य निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी राजन श्रीवास्तवले दिएको जानकारीअनुसार सिरहा निर्वाचन क्षेत्र नं. १ मा ३२ जना, क्षेत्र नं. २ मा २९ जना, क्षेत्र नं. ३ मा ४१ जना र क्षेत्र नं. ४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसरी चारवटै क्षेत्रमा गरी कुल १३९ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।



उम्मेदवारी दर्ता गराउनेमध्ये स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको छ । कुल १३९ उम्मेदवारमध्ये ८५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन क्षेत्रअनुसार सिरहा–१ मा १८ जना, सिरहा–२ मा १५ जना, सिरहा–३ मा २९ जना र सिरहा–४ मा २३ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ । यसले सिरहामा स्वतन्त्र उम्मेदवारप्रति बढ्दो आकर्षण देखाएको छ ।

मतदाता विवरणअनुसार सिरहाका चारवटै निर्वाचन क्षेत्रमा पुरुष मतदाता दुई लाख ४१ हजार ६ सय १४, महिला मतदाता दुई लाख १२ हजार २८ तथा अन्य मतदाता दुई जना गरी कुल चार लाख ५३ हजार ६ सय ४५ मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित र सहज बनाउन जिल्लाभर ५ सय ३१ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ता सम्पन्न भएसँगै अब उम्मेदवारको दाबी–विरोध, अन्तिम नामावली प्रकाशन तथा चुनावी प्रचारप्रसारको चरण सुरु हुनेछ । सिरहामा यसपटकको निर्वाचनमा दलगतसँगै स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०८२ माघ ७, बुधबार ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको