वासिङ्टन , माद्य ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वीटजरल्याण्डको डाभोसमा बुधबारदेखि सुरु हुने वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन वाशिङ्टनबाट मंगलबार राति उडेको ‘एयरफोर्स वान’ विमानमा प्राविधिक समस्या देखिएपछि उडेको केही बेरमै फर्काइएको छ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार विमानमा क्याबिनका बत्तीहरू काम नगरेपछि चालकदलले सुरक्षा कारण देखाउँदै वाशिङ्टन नजिकैको जोइन्ट बेस एन्ड्र्युजमा अवतरण गराएको थियो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि विमान उडेको केही बेरमै समस्या पहिचान भएको र त्यसपछि सावधानीका लागि विमान फर्काइएको बताएकी छन्। उडानको कति समयपछि विमान फर्किएको हो भन्ने बारे ह्वाइट हाउसले खुलाएको छैन।
तर, ट्रम्प अन्ततः अर्को विमान चढेर डाभोस पुगिसकेका छन्।
एयरफोर्स वानका रूपमा प्रयोग भइरहेको बोइङ ७४७–२००बी विमान सन् १९९० को दशकदेखि सेवामा छ। राष्ट्रपति ट्रम्पले यस विमानको प्राविधिक अवस्थाबारे पटक–पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनको पहिलो कार्यकालमा अमेरिकी प्रशासनले दुईवटा नयाँ बोइङ ७४७–८ विमान खरिदका लागि पुनःवार्ता गरेको थियो, तर ती विमान उनको दोस्रो कार्यकाल समाप्त हुनुअघि तयार हुने अनुमान गरिएको थिएन।

गत मे महिनामा ट्रम्प प्रशासनले कतार सरकारबाट नयाँ बोइङ ७४७–८ जेट ग्रहण गरेको थियो। उक्त विमानलाई एयरफोर्स वानको रूपमा प्रयोग गर्नुअघि व्यापक सुरक्षा परिमार्जन आवश्यक पर्ने बताइएको छ। यद्यपि, सुरक्षा प्रणाली जडानमा कति समय लाग्छ भन्ने बारे रक्षा मन्त्रालयले अझै जानकारी दिएको छैन।







