‘गणतन्त्रको संरक्षण अपरिहार्य’



जनकपुरधाम, माघ १६ । प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाको ६२औँ बलिदानी दिवसका अवसरमा धनुषामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बिहीबार धनुषा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत विभिन्न स्थानमा स्थापित सहिद झाका सालिक तथा सहिदद्वारमा माल्यार्पण गर्दै सहिदको योगदान र बलिदानको स्मरण गरिएको हो ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सहिद दुर्गानन्द झाको वास्तविक सम्मान भनेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण भएको स्पष्ट पार्नुभयो । उहाँले सहिदको बलिदानबाट प्राप्त गणतन्त्रलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।

निधिले जनकपुरधाम उपमहानगरपालिका–२३ बेलामा निर्माण गरिएको सहिद झाको पूर्णकदको सालिक तथा जटहीस्थित सहिद दुर्गानन्द झा प्रवेशद्वारमा रहेको सालिकमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । सो अवसरमा सहिद झाको संघर्ष, राजनीतिक चेतना र गणतन्त्र स्थापनामा उहाँको योगदानबारे चर्चा गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले सहिद दुर्गानन्द झालाई राष्ट्र र जनताका लागि प्रेरणाका स्रोत भएको उल्लेख गर्नुभयो । उहाँले सहिदको ऐतिहासिक भूमिका भावी पुस्तासम्म सुरक्षित राख्न विशेष अभिलेखालय स्थापना गर्न आवश्यक रहेको सुझाव दिनुभयो । साथै, सहिद झाका सहयात्री क्रान्तिवीर महामना राजेश्वर नेपालीको पहलमा पूर्णकदको सालिक निर्माण सम्भव भएको उल्लेख गर्दै उहाँप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसैगरी, नेकपा ९एमाले० की नेतृ जुलीकुमारी महतोले नेपालमा गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने प्रथम सहिदका रूपमा दुर्गानन्द झाको योगदान अविस्मरणीय रहेको बताउनुभयो । उहाँले राणा शासनविरुद्धको आन्दोलन र राजतन्त्रको अन्त्यका लागि गरिएको संघर्षबीचको भिन्नता औँल्याउँदै सहिद झाले निर्भीक रूपमा राजतन्त्रकै विरुद्ध बलिदान दिएको स्मरण गर्नुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले सहिद दुर्गानन्द झाको विचार, साहस र बलिदान आज पनि लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि मार्गदर्शक बनेको निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति: २०८२ माघ १६, शुक्रबार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको