सप्तरी , माघ २० । जनता समाजवादी पार्टी नेपालले करिब चार महिना अघिदेखि सुरु गरेको ‘घर फिर्ती अभियान’ अहिले झन् प्रभावकारी बन्दै गएको छ।
अन्य ठूला साना पार्टी परित्याग गरेर जसपा नेपालमा प्रवेश गर्नेको संख्या त बढदो छ नै, विगतमा पार्टी छोडेका नेता कार्यकर्ताहरु पुनः धमाधम पार्टी प्रवेश गर्न थालेका छन् ।
यसैक्रममा, मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।
सप्तरी क्षेत्र न. ३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालक़ा अध्यक्ष उपेन्द्र यादवले चौधरीसहितक़ा नेताहरुलाई गम्छाटिका लगाएर पार्टीमा भित्र्याएक़ा छन्।
यसअघि उनी जसपा नेपालकी केन्द्रिय सदस्यको जिम्मेवारीमा थिइन् । जसपा नेपाल विभाजन हुँदा उनी पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् । उनी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघकी मधेश प्रदेशकी उपाध्यक्ष समेत हुन् ।
यसैगरी, कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका थारु नेता गोपाल प्रसाद चौधरी समेत सोमबार पार्टी प्रवेश गरेका थिए । युवा नेता शिवशंकर यादव ‘शिवम’ समेत जसपा नेपाल प्रवेशसँग जोडिएका छन् । पार्टी विभाजन हुँदा उनी अशोक राई नेतृत्वको जसपामा लागेका थिए ।
मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनको प्रवेशले यूवा सङ्गठनमा थप उर्जा मिल्ने जसपा नेपालक़ा केन्द्रीय सचिव शैलेन्द्र साहले बताए ।






