रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

उम्मेदवार र चालक फरार, गाडी प्रहरी नियन्त्रणमा


रौतहट , माघ २२ । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनापछि उम्मेदवार आलम र गाडी चालक फरार भएका छन्।

दुर्घटना ईशनाथ नगरपालिका–४, मठिया टोलमा भएको हो। स्थानीयका अनुसार सडक छेउमा रहेको बालिकालाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनामा मृत्यु हुने बालिका सोही स्थानकी अलसा खातुन हुन्। उनी स्थानीय बासिन्दा शेख साजिरकी छोरी रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार दुर्घटना आफ्नै वडाभित्र भएको हो, जसले घटनाप्रति थप आक्रोश सिर्जना गरेको छ।

प्रहरी स्रोतका अनुसार बा। १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो। दुर्घटनापछि गाडीमा सवार रास्वपा उम्मेदवार सगिर आलम र चालक घटनास्थलबाट फरार भएका छन्।

रौतहट प्रहरीले दुर्घटनामा संलग्न गाडी भने नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले दोषी पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। घटनापछि स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति: २०८२ माघ २२, बिहीबार १६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको