सप्तरी, माघ २६। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानको आधारमा बनेको हालको आठ जिल्लाको मधेश प्रदेशलाई विस्तार गरी २२ जिल्लाको मधेश बनाउन पार्टीको संघर्ष निरन्तर जारी रहेको बताएका छन्।
सप्तरीको राजगढ गाउँपालिकामा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले अनेकौं चुनौतीका बाबजुद मधेश प्रदेश स्थापना सम्भव भएको उल्लेख गरे। उनले अब बाँकी भूभाग समेटेर बृहत्तर मधेश निर्माण गर्न जसपा नेपाल बलियो शक्तिका रूपमा अघि आउनुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष यादवले सिमान्तकृत, बहिष्कृत, शोषित र पछाडि पारिएका समुदायको अधिकार, पहिचान तथा राज्यसत्तामा पहुँच सुनिश्चित गर्नकै लागि मधेश जनविद्रोह भएको बताए। राज्यका विभिन्न अंगमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनु जनआन्दोलनको उपलब्धि भएको उल्लेख गर्दै उनले यस्ता परिवर्तन संघर्षकै परिणाम भएको दाबी गरे।
संघीयता विरोधी शक्तिहरूले मधेशी, महिला, दलित, आदिवासी जनजाति, थारु लगायत समुदायले प्राप्त गरेका अधिकार र प्रतिनिधित्व खोस्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले प्रदेशलाई अधिकार नदिई ‘काम गर्न सकेन’ वा ‘खर्चिलो भयो’ भन्ने भ्रम फैलाइएको बताए। उनले त्यस्ता भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरे।
मधेशी जनताको संघर्षकै कारण मुलुकमा ठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै अध्यक्ष यादवले प्राप्त अधिकारको रक्षा र बाँकी अधिकार हासिल गर्न प्रतिनिधिसभामा जसपा नेपाललाई मजबुत शक्ति बनाउन आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा जसपा नेपालकी नेतृ तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव तथा पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्य अमरनाथ मण्डल, चन्देश्वर सदा, समानुपातिक उम्मेदवार संगीता मण्डल, चुल्हाइ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, युवा नेता सुरेन्द्र यादव, कमलदेव यादव, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी मण्डल, शान्ता मेहता, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष महेश कुमार यादव लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।
यसै दिन राजगढ गाउँपालिकाका विभिन्न वडामा आयोजित कार्यक्रमहरूमा पनि अध्यक्ष यादवसहितका नेताहरूको सहभागिता रहेको थियो।






