जनकपुरधाम, भदौ ३ । न्युरो अस्पताल जनकपुरले विपन्न विरामीको उपचारमा विशेष सहुलियत प्रदान गरेको छ ।
महोत्तरी जिल्लाको औरही नगरपालिका र सम्सी गाऊपालिका बाट उपचारका लागि न्युरो अस्पताल पुगेको दुई जना विपन्न विरामीलाई पाँच ÷पाँच लाख भन्दा बढीको सहुलियत प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
न्युरो अस्पतालका प्रशासन प्रमुख मनोज राउतले सडक दुर्घटनामा परि गम्भीर घाइते भएका औरही नपा ५ श्रीपुरका २८ वर्षीय राजकुमार मुखिया पाँच लाख भन्दा बढी र सम्सी गाउँपालिका वडा नं. ३का विरामी ५५ वर्षीय अमिना खातुनलाई ५ लाख ७१ हजार सहुलियत प्रदान गरेको बताए ।
विरामीहरुको आर्थिक अवस्था बारे जानकारी पाए पछि सो रकम छुट गरिएको उनले बताए ।
औरही ५ का राजकुमार मुखिया सडक दुर्घटना परि गम्भीर घाइते भएका थिए । प्राथमिक उपचार र प्रादेशिक अस्पताल जनकपुर उपचार पछि मुखिया न्युरो अस्पताल पुगेका थिए ।
मुखियाका भाउजु विणा मुखियाले सम्पूर्ण खर्च तिर्ने अवस्था आफुहरुको नरहेको हुँदा अस्पताल प्रशासनले सहयोग गरेको बताइन ।
त्यस्तै सम्सी ३ बैरगियाकी खातुन आफनै चापाकलमा लडि टाउकोमा गम्भीर चोट लागेर न्युरो पुगेकी थिइन । खातुनका छोरा इसराफुल शेषले आर्थिक अवस्था कमजोर रहेको जानकारी अस्पताल प्रशासनले गराएपछि पाँच लाख भन्दा बढी छुट दिएको बताए ।






