चितवन, भदौ १६ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि आवश्यक एलपी ग्यास उपत्यका बाहिरै भरेर आपूर्ति गरिने भएको छ।
ग्यास बोकेका बुलेटहरू काठमाडौं प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएपछि उपत्यका र आसपासका ग्यास उद्योगहरूले अन्य जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका हुन्।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ। त्यसअनुसार उपत्यका तथा आसपासका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० लगायतका जिल्लामा रहेका उद्योगसँग समन्वय गरेका छन्।
उपत्यका र आसपासका जिल्लामा मात्रै देशभरको कुल एलपी ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको अध्यक्ष चन्दले बताए। मुख्य राजमार्ग लामो समय अवरुद्ध रहँदा उपत्यकामा ग्यास अभाव हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न लागिएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म अन्य जिल्लाका उद्योगमा ग्यास भरेर वैकल्पिक सडक हुँदै काठमाडौं ल्याइने जानकारी दिए।
उनका अनुसार उपत्यका बाहिर भरेका ग्यासका सिलिन्डरहरू त्रिभुवन राजपथलगायत उपलब्ध वैकल्पिक सडकमार्फत काठमाडौं उपत्यकामा ल्याइनेछ।
वैकल्पिक उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले तत्काल उपत्यकामा ग्यासको अभाव नहुने कालाखेतीले बताए। उनले उपभोक्तालाई आवश्यकता अनुसार ग्यास खरिद गर्न आग्रह गर्दै अनावश्यक रूपमा जगेडा नराख्न समेत सुझाव दिएका छन्।
कालाखेतीका अनुसार श्री ग्यासले बाबा ग्यास, श्रीकृष्ण ग्यासले साइबाबा ग्यास, श्रीराम ग्यासले जानकी ग्यास तथा नेपाल ग्यासले नेपाल गण्डकीसँग समन्वय गरी ग्यास भर्न सुरु गरेका छन्। त्यस्तै एभरेष्ट र सुगम ग्यासले साहारा उद्योगसँग समन्वय गरेर ग्यास भर्ने काम अघि बढाएका छन्।
अन्य ग्यास उद्योगहरूले पनि राजधानी बाहिरका उद्योग वा आपसमा समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाइरहेको उनले बताए।
कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ हुने अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ। ग्यास उद्योगहरूले भने वैकल्पिक सडक र बाहिरी जिल्लाका उद्योगको प्रयोग गरी आपूर्ति व्यवस्थालाई निरन्तरता दिने प्रयास थालेका छन्।






