जलवायु न्याय र विकासशील देशलाई पर्याप्त वित्तमा गुटेरेसको जोड



एजेन्सी, असोज ७ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हरितगृह ग्यास उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेको बताएका छन्।

आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित उच्चस्तरीय कार्यक्रममा गुटेरेसले जलवायु सङ्कट समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका हुन्।

गुटेरेसले जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’जस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै जलवायु परिवर्तनको असर भोगिरहेका कमजोर तथा विकासशील देशलाई आवश्यक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनका अनुसार रुसले युक्रेनमा आक्रमण गरेयता पाँच प्रमुख पश्चिमी तेल कम्पनीले करिब पाँच खर्ब अमेरिकी डलर नाफा कमाएका छन्। त्यसको तुलनामा विकासशील देशलाई तापक्रम वृद्धिसँग अनुकूलन गर्न परिचालन गरिएको जलवायु वित्त करिब ३४ अर्ब डलर मात्र रहेको उनले उल्लेख गरे।

विश्वभर जलवायु परिवर्तनका असर तीव्र भइरहेका बेला गुटेरेसको यस्तो धारणा आएको हो। युरोपमा बढ्दो गर्मी तथा डढेलोदेखि नेपाल र तिब्बतमा हिमनदी पग्लिएपछि आएको विनाशकारी बाढीसम्मका घटनाले जलवायु जोखिम बढाइरहेका छन्।

कार्यक्रममा अर्थतन्त्रलाई हरित बनाउने, उत्सर्जन घटाउने तथा विकासशील देशलाई जलवायु लक्ष्य हासिल गर्न र जलवायुजन्य जोखिम सामना गर्न आवश्यक वित्त जुटाउने विषयमा छलफल हुँदैछ।

टर्की र अस्ट्रेलियाले आगामी नोभेम्बरमा कोप–३१ जलवायु सम्मेलन सहआयोजना गर्दैछन्। टर्कीले सन् २०३५ सम्म विश्वव्यापी अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउने ‘३५×३५’ लक्ष्य अघि सारेको छ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालका लागि पनि जलवायु वित्त तथा क्षति र नोक्सानीसम्बन्धी कोष महत्वपूर्ण विषयका रूपमा रहेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने तर जलवायु जोखिममा रहेका देशलाई आर्थिक सहयोग गर्नु परोपकार नभई कानुनी तथा नैतिक दायित्व भएको बताएका छन्।

गैरनाफामूलक संस्था युनियन अफ कन्सर्न्ड साइन्टिस्ट्सकी राहेल क्लिटसले जलवायु परिवर्तनबाट बढी प्रभावित तर कम वित्तीय सहयोग पाएका देशका लागि क्षति तथा नोक्सानी कोषमा नेपालको भूमिका महत्वपूर्ण हुने बताइन्।

जलवायु न्याय र कमजोर मुलुकको आवाजलाई विश्वमञ्चमा उठाउन गुटेरेसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको