जनकपुरधाम, असोज ११ । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् । बाढीका कारण बस्तीका अन्य घरसमेत जोखिममा परेका छन् ।
नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे कालीगण्डकीको बहाव बढेपछि नदी बस्तीमा पसेको थियो । फर्से बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बाढीले बगाएको प्रहरीले जनाएको छ ।
बाढीबाट अन्य घरसमेत जोखिममा रहेकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घटनामा हालसम्म मानवीय क्षति भएको छैन ।
पहिरो तथा प्रतिकूल अवस्थाका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा रहेको छ ।
कालीगण्डकीको बहाव बढेसँगै नदी आसपासका बस्तीमा जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।



