मनोज माझी
राजविराज, चैत २२ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मुलुकमा अहिले पनि लैङ्गिक हिंसा कायम रहनु दुर्भाग्यपूर्ण अवस्था भनी बताएका छन् ।
शुक्रबार राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सभाकक्षमा विगत ६ दिन देखी संचालित लैङ्गिक उत्तरदायी अनुसन्धान तथा संचारसीप सम्बन्धी तालिमको समापन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
लैङ्गिक हिंसा कायम रहनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नरहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री साहले यसको नियन्त्रणमा तीन वटै तहका सरकारको प्रमुख जिम्मेवारी रहने उल्लेख गरे । ५१ प्रतिशत जनसंख्या रहेको महिलाको विकास बिना मुलुकको विकास असम्भव हुने भन्दै उनले अहिले पनि समाजमा महिला हिंसा कायम रहनु दुर्भाग्यपूर्ण रहेको टीप्पणी गरे । महिलाहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सबल गराई अवसर समेत दिन आवश्यक रहेको भन्दै उनले तबमात्र मुलुकको सर्वाङ्किक विकास सम्भव हुन सक्ने जिकिर गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले पनि बोल्दै महिला हिंसा न्यूनिकरणका लागि प्रहरी प्रशासनले गरेको प्रयास र खेलेको भूमिका बारे चर्चा गरे । नेपाल सरकार र एशियाली विकास बैंकको साझेदारीमा संचालित महिला समुत्थान परियोजना अन्तरगत नेपाल प्रहरीमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई लैङ्गिक अपराधको अनुसन्धान सम्बन्धी ज्ञान, सीप र क्षमताको विकास तथा उक्त कार्यमा सक्षम र सबल बनाउने उद्देश्यका साथ गत चैत्र १७ देखी उक्त तालिम सुरु भएको थियो ।
तालिममा सहभागि ३० जना प्रशिक्षार्थी प्रहरीलाई सेक्सुअल अफेन्स, एकाउन्टिबिलिटी, डोमेस्टिक भ्वाइलेन्स, जेन्डर इक्विलिटी एण्ड सोसल इनक्लुजन, लिगल प्रेभिजन, जेन्डर बेस्ड भ्वाइलेन्स लगायत १४ विषयमा तालिम प्राप्त प्रशिक्षकहरुबाट तालिम प्रदान गरिएको थियो ।
कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना र नेपाल प्रहरीको सहकार्यमा सम्पन्न गरिएको मन्त्रालयका अधिकृत दिपिका सिटौलाले जानकारी दिइन् ।






