जनकपुरधाम, मंसिर ४ । त्रेता युगमा भगवान श्रीराम र माता जानकीको विवाह भएको दिनको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सात दिवसीय विवाह पञ्चमी महामहोत्सवको आज देखी औपचारिक रुपमा शुरु भएको छ ।
साताव्यापी महोत्सवको आज पहिलो दिन आज नगरदर्शन सम्पन्न हुनेछ। त्यसै गरि शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० गते रामकलेवासहित महोत्सव समापन हुनेछ। मङ्सिर शुक्लपक्ष पञ्चमीमा मनाइने यो पर्वमा नेपाल–भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्दछन्।
जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान र बाह्रबिघा परिसरमा सरसफाइ, आकर्षक पण्डाल निर्माण, बत्ती जडानलगायतका तयारीका काम तीव्र गतिमा भइरहेका छन्। जानकी मन्दिर व्यवस्थापन पक्षका अनुसार मठमन्दिर र आसपासका गल्लीहरूसमेत उज्यालो बनाउने काम जारी छ।
यस वर्ष विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्। तर, यो वर्ष कुनै तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताएका छन्। उनका अनुसार विगत वर्षहरूमा सरकारी निकायबाट आर्थिक तथा व्यवस्थापकीय सहयोग प्राप्त भए पनि यसपटक कुनै पनि सहयोग पाइएको छैन।
भारतका अयोध्या, ऋषिकेश, हरिद्वारसहित विभिन्न धार्मिक केन्द्रहरूबाट साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको ठूलो संख्यामा आगमन हुने जानकी मन्दिर स्रोतले जनाएको छ। मिथिलाञ्चलको सांस्कृतिक पहिचानका रूपमा स्थापित यो महोत्सवले वर्षौंदेखि नेपाल–भारत धार्मिक सम्बन्धलाई मजबुत बनाउँदै आएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार भीड व्यवस्थापनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी पर्याप्त संख्यामा परिचालन गरिने उनले जानकारी दिए।






