जनकपुरधाम, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको प्रदेशसभा सदस्य पद खारेज भएको छ। मधेस प्रदेश सभाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विच्छालाई सांसद पदबाट हटाएको जानकारी दिएको हो।
विच्छा राप्रपाको समानुपातिक कोटाबाट मधेस प्रदेश सभा सदस्य बनेकी थिइन्। तर, पार्टीको आधिकारिक लाइनविपरीत मन्त्री बनेको र अनुशासन उल्लंघन गरेको आरोपपछि उनी पार्टी नेतृत्वको कारवाहीमा परेकी थिइन्।
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले पार्टी विधान २०४८ (संशोधन सहित) को आधारमा विच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उनलाई प्रदेशसभा सदस्यबाट फिर्ता गरिएको हो।
प्रदेशसभाले जारी गरेको सूचनामा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम विच्छाको पद स्वतः खारेज भएको उल्लेख गरिएको छ।
यससँगै राप्रपा मधेसमा उत्पन्न आन्तरिक विवादले नयाँ मोड लिएको छ भने, अब रिक्त भएको स्थानमा कसलाई पठाइने भन्ने विषय पार्टी भित्र छलफलको एजेण्डा बनेको छ।






