उम्मेदवार सिफारिस गर्न राष्ट्रिय मुक्ति पार्टीको निर्देशन



जनकपुरधाम, मंसिर २० । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस गर्ने कार्यका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय समितिको मंसिर १ गतेको बैठकको निर्णयअनुसार सबै जिल्ला अध्यक्ष, संयोजक तथा इन्चार्जलाई उम्मेदवारको नाम सिफारिस गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन भनिएको हो।

पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा जिल्लामा उपलब्ध केन्द्रीय नेताहरूको सहभागितामा विस्तारित बैठक आयोजना गरी प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको सूची तयार गर्न निर्देशन दिइएको उल्लेख छ।

विशेषगरी समानुपातिक उम्मेदवार सिफारिस गर्दा प्रत्येक क्लस्टरमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था कानुनी रूपमा पालना गर्न पार्टीले कडाइका साथ निर्देशन दिएको छ।

त्यसैगरी समानुपातिक उम्मेदवारको नाम पठाउँदा नागरिकताको प्रतिलिपि, भोटर आइडी कार्ड, साथै अल्पसंख्यक वा अपाङ्गता सम्बन्धी प्रमाणपत्र भए त्यसको प्रतिलिपि पनि संलग्न गर्न भनिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २०, शनिबार १७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको