काठमाडौं ,मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच रोमाञ्चक भिडन्त हुँदैछ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्षस्थानमा पुगेको सुदूरपश्चिम आज पुनः फाइनल यात्रालाई सुनिश्चित गर्न मैदान उत्रिँदैछ। उनीहरूले लिगभरि एक मात्र हार बेहोरेका थिए—त्यो पनि यिनै विराटनगर किङ्ग्सविरुद्ध।लिगको अन्तिम खेलमा विराटनगरले १४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गर्दै ६ विकेटको जीत निकालेको थियो। आज सुदूरपश्चिम त्यस हारको बदला लिन कडा तयारीमा छ।
तर, टोलीका दुई प्रमुख विदेशी खेलाडी जोश ब्राउन र क्रिस लिनको अनुपस्थिति उनीहरूको लागि चुनौती बन्नेछ। उनीहरूको स्थानमा भारतका सेल्डन ज्याकसन र पाकिस्तानका मुख्तर अहमद भित्र्याइएका छन्।
सुदूरपश्चिमका लागि ब्याटिङतर्फ विनोद भण्डारी उत्कृष्ट लयमा छन्। उनले सात खेलमा २०१ रन जोडेका छन्। ओपनिङमा विनोदसँगै ईशान पाण्डे आउने सम्भावना छ। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र हरमित सिंहले मध्यक्रम सम्हाल्नेछन्। बलिङतर्फ अभिनाश बोहोरा, हरमित सिंह र स्कट कुगेलाइन मुख्य हतियार हुनेछन्।
विराटनगरले लिग चरणमा पाँच जित र दुई हारसहित दोस्रो स्थान हासिल गरेको थियो। फाफ डुप्लेसिस र साम हेज्लेटले पछिल्लो खेलमा क्रमशः ५० तथा ५१ रनसहित उत्कृष्ट सुरुवात दिलाएका थिए। मार्टिन गप्टिल, बसिर अहमद र लोकेश बम मध्यक्रमका भरोसायोग्य खेलाडी हुन्।
बलिङमा कप्तान सन्दीप लामिछाने १४ विकेटसहित प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका छन्। उनलाई मर्सान्ट डी लाङ्गे, सुभम रन्जाने र सूर्य तामाङले साथ दिनेछन्।
यो खेल केवल दुई टोलीबीचको मात्र नभई राष्ट्रिय टोलीका दुई स्टार—दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेबीचको प्रतिस्पर्धा पनि हो। आजको भिडन्त जित्ने टोली सिधै फाइनल पुग्नेछ, भने हार्नेले दोस्रो मौका पाउनेछ। दुबै टोली सहज फाइनल यात्राकै खोजीमा छन्।






