सुर्खेत , पुस २ । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे सडकखण्डको निर्माण कार्य यतिबेला तीव्र गतिमा अघि बढेको छ।
लामो समयदेखि ढिलाइ र विवादमा परेको यो आयोजना तिहारपछि गति लिएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थलमै पुगेर पटक–पटक निर्देशन र कारबाहीको चेतावनी दिएपछि ठेकेदार कम्पनी सक्रिय भएको जनाइएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पश्चिम सुर्खेतसँग जोड्ने १३।९ किलोमिटर लामो यो सडक प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ। आयोजनाको अनुमानित लागत ४२ करोड ४७ लाख रुपैयाँभन्दा बढी छ। सुरुमा जयदेवी जेभी बाँकेले काम पाएको भए पनि ठेकेदारको लापरबाही, कानुनी झमेलाहरू र वन क्षेत्रको अवरोधका कारण काम कछुवा गतिमा अघि बढेको थियो।
सम्झौता अनुसार २०८१ असारभित्र काम सकिनुपर्ने भए पनि प्रगति नदेखिएपछि अहिले मुख्य ठेकेदार अनक कन्स्ट्रक्सनले सम्पूर्ण जिम्मेवारी सम्हालेको छ। पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार हाल आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत पुगेको छ। रूख कटानको प्रक्रिया टुंगिएपछि कामले गति लिएको हो।

आयोजनाको म्याद तेस्रो पटक थपेर २०८३ असार मसान्तसम्म पुर्याइएको छ। ठेकेदार कम्पनीका प्रतिनिधिका अनुसार आगामी असारसम्म कम्तीमा ८ किलोमिटर सडक कालोपत्रे गरिने र बाँकी खण्डमा ग्राभेलिङ गरी सवारी आवागमन सहज बनाइनेछ।
यद्यपि विद्युत् प्राधिकरणले सडक क्षेत्रमा पर्ने पोल समयमै नहटाउँदा निर्माणमा समस्या देखिएको छ। पोल सार्न आवश्यक रकम भुक्तानी भइसके पनि अझै १७–१८ वटा पोल सडकको बीचमै रहेको बताइएको छ।
तीन दशकदेखि धुलो र हिलोको सास्ती खेप्दै आएका पश्चिम सुर्खेतवासीले अहिले कामले गति लिएकोमा आशा व्यक्त गरेका छन्। मुख्यमन्त्री कँडेलले निर्माणको गति अझ बढाउन ठेकेदारलाई निर्देशन दिएका छन्।







