सप्तरी, माघ २२ । फागुन २१ गते हुने प्रतिनीधीसभा निर्वाचनका लागी बुधवार देखी नेपाली सेना सहित चार वटै सुरक्षा निकाय परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षाका लागी यहाँ स्थित नेपाली सेनाको बरख गणबाट ६ सय ५०, जिल्ला प्रहरी कार्यालयबाट १ हजार ७ सय १३ तथा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर सप्तरीबाट ८ सय ६९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।
यहाँ निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका ४ हजार २ सय २२ निर्वाचन प्रहरी पनि जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ । प्रतिनीधसभा सदस्य पदका लागी ४ निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता छन । जसका लागी जिल्ला भर २ सय ९६ मतदान स्थल तथा ५ सय ६२ मतदान केन्द्र निर्धारण गरिएको छ । जस मध्ये ४ लाई सामान्य, ८३ लाई संवेदनशील तथा २ सय ९ मतदान स्थललाई अति संवेदनशील मतदान स्थलको रुपमा छुट्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुरी पुरीले जानकारी दिए ।
सोही अनुसार सुरक्षा ब्यवस्था मिलाइएको उनको भनाई छ । यस्तै निर्वाचन प्रयोजनका लागी ३ हजार ३ सय ७२ कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकिकृत सुरक्षा योजना २०८२ अनूरुप हाल ६ सय ५० सेना परिचालन गरिएको र आवश्यक्ता अनुसार थप सेना परिचालन हुने नेपाली सेनाको वरख गणका गणपती सोभित बहादुर चन्दले जानकारी दिए ।
निर्वाचन सुरक्षाका लागी सेनाले ३ चरणमा काम गर्ने छ । जसमा मतपत्र छपाई पछि चुनावी मतदान स्थल र मतगणना स्थल सम्मको सुरक्षा समावेश छ ।






