सप्तरी, माघ २७ । स्थानीयतहको होस वा प्रदेश र प्रतिनीधीसभाको निर्वाचन होस । सप्तरी सदरमुकाम राजविराजलाई लक्षित गरी सबै दलको घोषणापत्र, प्रतिबद्धता पत्र, संकल्पपत्र र अपिलपत्रमा नगरपालिका क्षेत्र भित्रको विटौरी,ब्लक जग्गाको लालपूर्जा प्रदान गरिने, गजेन्द्रनारायण सिंह अस्पताल र औधोगिक क्षेत्रमा सुधार तथा प्रस्ताविक रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवन निर्माण र संचालनको विषय प्रमुख एजेन्डा बन्ने गरेको छ ।
यस पल्ट पनि प्रतिनीधीसभा निर्वाचन नजिकिदै गर्दा राजविराज नगरपालिका समेटिएको सप्तरीको निर्वाचन क्षेत्र नं २ का प्रयाजसो हरेक दलका उम्मेदवारले यीनै विषयलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा उत्रेका छन ।
नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत, उज्यालो नेपाल, राष्ट्रिय मुक्ती, स्वभिमान, जनअधिकार, आजपा, नेजपा लगायतका पार्टीका उम्मेदवारको तर्फबाट जारी घोषणा पत्र, संकल्प पत्र, प्रतिबद्धतापत्र र अपिलपत्रमा उपरोक्त मुदा प्राथमिक्ताका साथ सम्बोधन गराउने उल्लेख गरिएको छ । तर चुनाव सकिएपछि ती एजेन्डाहरु हराउने गरेको स्थानीय मतदाताहरुको गुनासो छ ।
नयाँ शक्तीको रुपमा उदाएका तथा नयाँ अनुहार लिएर सप्तरीको क्षेत्र नं. २ मा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उक्त एजेन्डालाई प्राथमिक्तामा राखी आफनो उम्मेदवारले जीते उक्त मागहरु सम्बोधन हुने प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरेका छन ।
सप्तरी सदरमुकाम राजविराजको मुख्य बजार मेनरोड तथा आसपासमा रहेको ६८ विगहा जग्गामा नगर स्थापनाकाल देखी नै वसोवास गर्दै आएका ५ हजार २ सय परिवार (झण्डै २२ हजार मतदाता) अझै जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाउन सकेका छैनन । जग्गाधनी संग रहेको बिटौरी जग्गाको कागजात कै आधारमा यस अघि उक्त जग्गा विक्री र बैंक तथा वित्तिय संस्थामा ऋण लिने काम हुदै आएको थियो । तर विगत ९ वर्ष देखी सरकारले गाउँ ब्लक र बिटौरी जग्गाको खरिद विक्री तथा बैक÷वित्तिय संस्थामा धितो राखी ऋण लिने कार्यमा रोक लगाएपछि जग्गाधनीहरु समस्यामा परेको राजविराज नगरपालिका ३ का घनश्याम दास बताउँछन ।
बुआ–बाजेको पाला देखी रहेको आफनो जग्गा समस्यामा पर्दा विक्री वितरण गर्न र बैंक÷वित्तिय संंस्थामा राखेर ऋण समेत लिन नसक्ने स्थितीमा पुग्दा मिटरब्याजी संग चर्काे ब्याजदरमा ऋण लिन बाध्य भएको राजविराज ७ का विरेन्द्र गुप्ताले गुनासो पोखे ।
राजविराज ४ का रजनीश माझीले ९ वर्ष अघि सम्म नगरपालिकाबाट पाएको रसिदको आधारमा समस्या परेका बेला बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर काम गर्ने गरेकोमा अहिले सो सेवा सुविधाबाट बञ्चित गराउँदा समस्यामा परेको सुनाए ।
विभिन्न राजनीतिक दल र तिनका उम्मेदवारले चुनावका बेला ब्लक, बिटौरीका जग्गावालालाई जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउने, गजेन्द्र नारायण सिह अस्पताल र गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा सुधार, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण र संचालनलाई प्रमुख एजेन्डा बनाउने गरेपनी चुनाव सकेपछी विर्सने गरेको नगरवासीको गुनासो छ ।
उनीहरुले यस पल्ट उल्लेखित समस्या समाधान गर्न प्रतिबद्ध हुने र इमान्दार प्रयास गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने स्पस्ट पारेका छन ।
१ लाख ५ हजार ९ सय २२ मतदाता रहेको सप्तरीको निर्वाचन क्षेत्र न २ मा ३४ जना उम्मेदवार चुनावी मैदानमा छन । ती मध्ये उल्लेखित एजेन्डाहरु प्रायजसो सबैको घोषणापत्र, प्रतिबद्धतापत्र, संकल्पपत्र र अपिलपत्रमा समेटिएको छ ।






